कृष्णराज खनाल
राले । नेपाल सेन्टर अफ नर्थ क्यारोलाइना (एनसीएनसी) ले प्रत्येक वर्ष आयोजना गर्दै आइरहेको ‘नेपाल परेड डे’ यसपटक अप्रिल १८, शनिबार हुने भएको छ।
यो एनसीएनसीले आयोजना गर्दै आएको ‘नेपाल परेड डे’ को दसौँ संस्करण हो । संस्थाले नर्थ क्यारोलाइनाका विभिन्न क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई कार्यक्रममा सहभागी हुन अनुरोध गरेको छ । आयोजकका अनुसार यसपटक राम्रो दिन परेकोले दुई हजारभन्दा बढी नेपालीहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार नेपाल परेड डे विगतका वर्षहरूझैँ भव्य रूपमा सम्पन्न गराउन विभिन्न व्यक्ति तथा समूहलाई छुट्टाछुट्टै जिम्मेवारी तोकिएको छ । परेड डे मोरिसभिलस्थित एभिएसन पार्क वेमा आयोजना हुने भएको छ ।
कार्यक्रममा विशेषतः नेपालका विभिन्न जातजातिका पहिरन र भेषभूषासहित सांस्कृतिक प्रस्तुति रहनेछ । गीत, संगीत र नृत्य कार्यक्रमका प्रमुख आकर्षणका रूपमा रहने एनसीएनसीले जनाएको छ ।
यसका साथै, परेड डेमा निःशुल्क फोटो खिच्ने व्यवस्था, नेपाली खानाका विभिन्न स्टल (ममदेखि चाउचाउसम्म र चिउरादेखि छोइलासम्म), अन्य व्यावसायिक स्टलहरू, बालबालिकाका लागि बाउन्स हाउस र खेलकुद गतिविधि, अनुहारमा रंगरोगन लगाउनेजस्ता विविध मनोरञ्जनात्मक कार्यक्रमहरू राखिएको जानकारी दिइएको छ ।
एनसीएनसीका पूर्व अध्यक्ष विकास शाक्यले दसौँ संस्करण विशेष हुने भएकाले कार्यक्रममा सहभागी भइदिनुहुन सबैलाई अनुरोध गरेका छन् ।








