१६ चैत्र २०८०, शुक्रबार | Fri Mar 29 2024

अब को बन्ला सभामुख ?



काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले आउँदो पुस ४ गते संसद्‌को हिउँदे अधिवेशन आह्वान गरेकी छन् । अधिवेशन आह्वानसँगै अब सभामुख को बन्ला भन्ने चर्चा सुरु भएको छ ।

अधिवेशनको पहिलो कार्यसूची सभामुख निर्वाचनको विषयलाई बनाउने तयारीसहित भावी सभामुखबारे छलफल सुरु भएको हो ।

सभामुख कसलाई बनाउने भन्ने नेकपाभित्र बहस सुरु भइसकेको छ । सभामुखका आकांक्षीहरु लबिङमा लागेका छन् । यद्यपि यो विषयले पार्टी कमिटिको छलफलमा भने पुगिनसकेको चर्चा छ ।

एमाले र माओवादी केन्द्रको एकीकरण पछि शक्ति सन्तुलन मिलाउन दुई वर्षअघि सभामुख तत्कालीन माओवादीको भागमा पारिएको थियो। त्यसैले अहिले पनि सभामुख पद आफूहरूले नै पाउनुपर्ने पक्षमा पूर्वमाओवादी नेता छन् भने पूर्वएमालेहरू पार्टी एकीकरण भइसकेपछि पुरानो भागबन्डामा अल्झिन नहुने तर्क गरिरहेका छन्।

पूर्वएमाले वृत्तमा तत्कालीन संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङलाई सभामुखको प्रबल दाबेदारका रूपमा हेरिएको छ भने उपसभामुख शिवमाया तुम्बाहाङ्फे पनि सभामुखमा आफ्नो स्वाभाविक दाबी रहने बताउँदै आएकी छन्।

पूर्वमाओवादीमा भने स्थायी समिति सदस्य अग्नि सापकोटालाई भावी सभामुखका रूपमा हेरिएको छ । सापकोटालाई सभामुख बनाउन अध्यक्ष पुष्पकमल दाहाल पनि सकारात्मक देखिएका छन् ।

सभामुख स्वत: पूर्वमाओवादीको भागमा भएकाले यो विषयमा धेरै छलफल गर्नु नपर्ने पूर्वमाओवादी नेताहरुको धारणा छ भने पूर्वएमाले नेताहरु पार्टी एक भइसकेकाले अब पूर्वएमाले र पूर्वमाओवादी भन्न नहुने तर्क गर्दै आएका छन् ।

शुक्रबार नेकपाको सचिवालय बैठक बस्दैछ । उक्त बैठकमा यो विषयमा छलफल हुन सक्ने सम्भावना छ ।

उपसभामुख राजीनामा दिने

उपसभामुख शिवमाया तुम्बाहाङ्फेले संसद् अधिवेशन सुरु हुनुअघि नै राजीनामा दिने भएकी छन्। नेकपा नेताहरु तुम्बाहाङ्फेले राजीनामा दिने निश्चित भइसकेको बताउँदै आए पनि उनले आफूले के गर्ने भन्ने विषयमा एक/दुई दिनमा स्पष्ट जानकारी दिने बताएकी छन्।

संविधानको धारा ९१(४) मा प्रतिनिधिसभाको सभामुखको अनुपस्थितिमा उपसभामुखले अध्यक्षता गर्ने व्यवस्था छ । यस्तै ९१(५) मा प्रतिनिधिसभाको सभामुख, उपसभामुखको निर्वाचन नभएको वा दुवै पद रिक्त भए प्रतिनिधिसभाको बैठकको अध्यक्षता उपस्थित सदस्यमध्ये ज्येष्ठ सदस्यले गर्ने व्यवस्था छ ।

उपसभामुख तुम्बाहाङ्फेले अधिवेशनअगावै राजीनामा दिइन् भने हिउँदे अधिवेशनको पहिलो बैठक ज्येष्ठ सदस्यले अध्यक्षता गरेर राष्ट्रपतिले सदन आह्वान गरेको पत्रसँगै सभामुख कृष्ण महरा र उपसभामुखको राजीनामाको पत्र पढेर सुनाउनेछन् ।

यस्तै प्रतिनिधिसभा नियमावलीको नियम ६(१) मा सभामुखले मात्रै संसद् अधिवेशन डाक्न सक्ने र ६(४) मा प्रत्येक बैठकको प्रारम्भ र स्थगनको घोषणा सभामुखले गर्ने उल्लख छ । यही प्रावधानका कारण पनि नेकपाले उपसभामुख तुम्बाहाङ्फेलाई अधिवेशनअगावै राजीनामा गराउने तयारी गरेको हो।

प्रकाशित मिति : २५ मंसिर २०७६, बुधबार  २ : १३ बजे