काठमाडौँ– सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटि बैठकको दोस्रो दिन सोमबार अध्यक्षद्वयले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनलगायत विषयमा छलफल सुरु भएको छ ।
पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी बैठकमा सदस्यहरुले आफ्नो धारणा राख्ने छन् ।
आइतबारको बैठकमा दुवै अध्यक्षको तर्फबाट पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए । कार्यकारी भूमिकाको जिम्मा पाएका दाहालले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पार्टीका वरिष्ठ नेताहरुसँगसमेत परामर्श गरेर लेखेको प्रतिवेदन भएकाले पार्टी र सरकारबारे उल्लेख गरिएका सीमा र कमजोरी अर्थपूर्ण छन् ।
११ पृष्ठ लामो प्रतिवेदनमा अन्तर्राष्ट्रिय परिस्थिति र हाम्रो दायित्व, राष्ट्रिय राजनीतिक परिस्थिति, पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा, सरकारका कामहरुको सामान्य समीक्षा, उप–निर्वाचनको समीक्षा, सचिवालयका निर्णयहरुको अनुमोदन सम्बन्धी प्रस्ताव र पार्टीका आगामी कार्यक्रमका रुपरेखा गरी सात विषय समेटिएको छ।
प्रतिवेदनमा पार्टी एकता सुदृढ गर्ने सम्बन्धमा, सरकारका कामहरुको सामान्य समीक्षा गर्दै नेकपा र नेकपा नेतृत्वका सरकारका कमजोरी पनि औल्याइएको छ। साथै ती बुँदामा पार्टी र सरकारलाई प्रभावकारी कसरी चलाउन सकिन्छ भन्ने प्रस्ताव र सुझाव पनि छन्।
राजनीतिक प्रतिवेदनसँगै विधान संशोधन, नेपाल भारत सीमा समस्या र आगामी केन्द्रीय कमिटी बैठकलगायत विविध कार्यसूची निर्धारण गरिएको छ । बैठकमा महासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्तावसमेत पेश गरेका थिए ।