८ श्रावण २०८१, मंगलबार | Tue Jul 23 2024

संसद बैठक आइतबार, ओली र दाहालले गरे उपसभामुखसँग छलफल



काठमाडौं– नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले उपसभामुख शिवमाया तुम्बाहाङ्फेसँग छलफल गरेका छन्।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षले तुम्बाहाङ्फेसँग कुराकानी गरेका हुन्। सभामुख चयनको प्रक्रिया अन्यौलमा परेपछि दुई पटक स्थगित भैसकेको संसद बैठक आइतबारका लागि बोलाइएको छ।

बलात्कार आरोप पछि सभामुख कृष्णबहादुर महराले राजीनामा बुझाए पछि रिक्त सभामुख पदको उम्मेदवार चयनमा सत्तारुढ नेकपाभित्र टुंगो नलाग्दा प्रतिनिधि सभा बैठक सर्दै आएको थियो ।

नेकपाले सभामुखको उम्मेद्वार टुङ्गो नलगाउँदा संसद बैठक लगातार अवरुद्ध हुँदै आएको छ। नेकपामा पूर्व एमालेबाट सभामुख बनाउने कि पूर्व माओवादीबाट भन्ने विवाद छ । नेकपामा प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच सभामुखको उम्मेदवार चयनमा कुरा मिलेको छैन । ओलीले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ र दाहालले अग्नी सापकोटालाई अगाडि सारेका छन् । उपसभामुख तुम्बाहाङ्फेलाई समेत राजीनामा गर्न लगाएर उपसभामुख जनमोर्चा वा राजपालाई दिने पक्षमा नेकपा छ ।

प्रकाशित मिति : २५ पुस २०७६, शुक्रबार  ५ : ४० बजे