६ आश्विन २०८०, शनिबार | Sat Sep 23 2023

अग्नी सापकोटाविरुद्ध परेको रिटमाथि आज सर्वोच्चमा प्रारम्भिक सुनुवाई



काठमाडौँ — नेकपाका नेता अग्नि सापकोटालाई प्रतिनिधिसभाको सभामुख बनाउन नहुने माग राख्दै परेको रिट निवेदनमाथि सर्वोच्च अदालतले आइतबार प्रारम्भिक सुनुवाई गर्दैछ । न्यायाधीश हरिप्रसाद फुँयालको इजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दर्ता गरेको निवेदनको पेशी तोकिएको हो ।

हत्याको आरोप लागेका नेकपाका सांसद अग्निप्रसाद सापकोटालाई प्रतिनिधीसभाको सभामुख बनाउन नहुने भन्दै सर्वोच्च अदालतमा शुक्रबार रिट निवेदन दर्ता भएको थियो। वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख बनाउनबाट रोक्न आदेश जारी हुनुपर्ने माग राख्दै निवेदन दर्ता गराएका हुन्।

रिट निवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, प्रतिनिधी सभा सचिवालय, अग्नि सापकोटा, प्रतिनिधीसभाका जेष्ठ सदस्य महन्थ ठाकुर, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालयलाई विपक्षी बनाइएको छ।

सापकोटामाथि काभ्रेका अर्जुन लामाको हत्या गरेको आरोप छ। २०६२ साल बैशाख १६ गते श्रीकृष्ण मावी दाप्चामा अभिभावक भेला स्थलबाट अर्जुन लामा अपहरणमा परी बेपत्ता थिए। साउनको तेस्रो साता लामालाई नै खाल्डो खल्न लगाई ज्यूदै पुरेको भनी उनी पत्नी पूर्णिमाया लामाले २०६४ सालमा काभ्रे जिल्ला अदालतमा जाहेरी दिएकी थिएन। प्रहरीले जाहेरी लिन मानेन।

प्रहरीले निवेदन लिन नमानेपछि पूर्णिमायाले दायर गरेको रिट निवेदन सुनुवाई गर्दै २०६४ साल फागुन २२ गते सर्वोच्च अदालतले आदेश जारी गरेको थियो। त्यसपछि सापकोटा विरुद्धको जाहेरी दर्ता भयो। पछि बाबुराम भट्टराई नेतृत्वको सरकारले सापकोटा विरुद्धको जाहेरीलाई तामेलीमा राख्ने निर्णय गरेको थियो। त्यही निर्णय विरुद्ध परेको रिटमा अन्तरिम आदेश जारी भयो। उक्त रिट अहिले पनि सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ।

नयाँ सभामुख चयन गर्नका लागि आजै ३ बजे प्रतिनिधिसभाको बैठक बोलाइएको छ । सभामुखमा नेकपाका तर्फबाट सापकोटाको मात्रै उम्मेदवारी परेकाले अदालतबाट कुनै व्यवधान नपरे उनी सभामुख हुने तय भइसकेको छ ।

प्रकाशित मिति : १२ माघ २०७६, आइतबार  १० : ५३ बजे