९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

अब पासपोर्टमा केरमेट गरे ५ वर्ष कैद, ५ लाख जरिवाना



काठमाडौँ — विदेशी नागरिक नेपालमा बसेर पासपोर्ट (राहदानी) र भिसा दुरुपयोग गरेको पाइए पाँच लाख रुपैयाँ जरिवाना र पाँच वर्षसम्म कैद सजाय गर्न प्रस्ताव गरिएको छ ।

गृहमन्त्री रामबहादुर थापाले संघीय संसद् सचिवालयमा बिहीबार राष्ट्रिय सभाको विधेयक शाखामा दर्ता गरेको ‘अध्यागमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७६’ मा उक्त सजायको व्यवस्था गरिएको हो । राहदानी दुरुपयोग, केरमेट वा अनधिकृत प्रयोग गर्ने तथा झूटा विवरण देखाएर नेपाली भिसा लिने विदेशीलाई ५ वर्षसम्म कैद वा ५ लाख रुपैयाँ जरिवाना वा दुवै सजाय हुने व्यवस्था विधेयकमा छ ।

त्यस्तो कसुरमाथि जिल्ला अदालतले टुंगो लगाउने प्रस्तव गरिएको छ । त्यसैगरी, विदेशी राहदानी वा नेपाली भिसा सच्याउन र नक्कली राहदानी तथा नक्कली भिसा प्रयोग गर्न सघाउनेलाई २ वर्ष ६ महिना कैद र २ लाख ५० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था विधेयकमा छ ।

हालको अध्यागमन ऐनमा भने यस्तो कसुर गर्ने विदेशीलाई ५ वर्ष कैद र १ लाख रुपैयाँसम्म मात्रै जरिवाना गर्न सकिने व्यवस्था छ ।

विद्यमान ऐनअनुसार भिसा अवधिभन्दा बढी समय बस्ने तथा पर्यटक भिसा लिएर काम गर्नेलगायत कसुरमा विदेशीलाई ५० हजार रुपैयाँसम्म जरिवाना गर्ने तथा देशनिकाला गर्ने व्यवस्था रहेको छ । यसलाई बढाएर १ लाख रुपैयाँसम्म जरिवाना गर्न सकिने व्यवस्था विधेयकमा उल्लेख गरिएको छ ।

अनुसन्धानमा रहेका नेपाली वा विदेशीले हिरासतमै गैरकानुनी गतिविधि गरेमा, प्रतिबन्धित क्षेत्रमा पदयात्रा अनुमति नलिई भ्रमण गरेमा वा अध्यागमनका कर्मचारीलाई दुर्व्यवहार गरेमा १ वर्ष कैद वा १ लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

नेपालको कानुन उल्लंघन गरेका, अन अराइभल भिसा सुविधा नभएका देशका नागरिक वा इन्टरपोलको खोजी सूचीमा रहेका व्यक्तिलाई नेपाल ल्याएको पाइए सम्बन्धित एयरलाइन्सलाई समेत १ लाख रुपैयाँसम्म जरिवाना गरिने प्रस्ताव विधेयकमा गरिएको छ । त्यस्ता व्यक्ति भित्र्याउनेलाई जुन मुलुकबाट ल्याएको हो, त्यहीँ पुर्‍याउनुपर्ने दायित्वसमेत सम्बन्धित एयरलाइन्सकै हुनेछ । यी तीनवटै प्रावधान नयाँ हुन् ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७६, शुक्रबार  ३ : २७ बजे