२४ भाद्र २०८३, बुधबार | Thu Sep 10 2026

वीरगन्‍जमा रहेका तीन भारतीयमा कोरोना पुष्टि, संक्रमितकाे संख्या १२ पुग्याे



काठमाडौँ । हेटौंडामा शुक्रबार गरिएको प्रारम्भिक परीक्षणमा कोभिड १९ पोजेटिभ देखिएपछि पुनः परीक्षणका लागि काठमाडौं पठाइएका तीन भारतीय नागरिकको स्वाब नमुनामा कोरोना भेटिएको पुष्टि भएको छ ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय स्रोतले पुनः परीक्षणमा पनि पोजेटिभ देखिएको पुष्टि गरेको हो।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयले हेटौंडामा गरिएको कोरोना भाइरसको स्वाब परीक्षणमा तीनजनाको रिपोर्ट पोजेटिभ देखिएपछि थप परीक्षणका लागि शनिबार काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाएको थियो। शनिबार साँझ काठमाडौंबाट नतिजा पोजेटिभ देखिएको खबर आएको मन्त्रालयले बताएको छ।

संघीय सरकारकाे स्वास्थ्य मन्त्रालयले यो नतिजा सार्वजनिक गर्ने तयारी गरिरहेकाे छ। सप्तरीमा आयोजित मुस्लिम धार्मिक सभामा सहभागी हुन आएका उनीहरु त्यही बेलादेखि भारत फर्केका छैनन् । वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका उनीहरुलाई शुक्रबार नै नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ ।

यसअघि नाै जनामा काेराेना संक्रमण देखिएकाे थियाे । ती मध्ये एक जना निकाे भएर घर फर्किसकेका छन् भने ८ जनाकाे अझै उपचार भइरहेकाे छ ।

प्रकाशित मिति : ३० चैत्र २०७६, आइतबार  १२ : १० बजे