५ बैशाख २०८३, शनिबार | Sun Apr 19 2026

सर्वोच्चको फैसला स्वीकार्दै कांग्रेसभित्र एकताको बहस तीव्र



नेपाली कांग्रेस भित्र आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालत ले गरेको पछिल्लो फैसलालाई स्वीकार गर्ने निष्कर्ष शेरबहादुर देउवा पक्षले निकालेको छ ।

शनिबार पूर्णबहादुर खड्काले बोलाएको देउवा पक्षका नेताहरूको बैठकले अदालतको निर्णय मान्ने सहमति गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता मीनबहादुर विश्वकर्मा ले “फैसला स्वीकार्ने भइयो” भन्दै संस्थागत रूपमा न्यायपालिकाको सम्मान गर्ने परम्परालाई निरन्तरता दिएको बताए।

उनका अनुसार, सर्वोच्चको निर्णयमा केही असहमति भए पनि पार्टीले त्यसलाई मान्ने निर्णय गरेको हो । साथै, अदालतको फैसलापछि अब पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी नयाँ नेतृत्वतर्फ सरेको उनले उल्लेख गरे ।

यसअघि शुक्रबार सर्वोच्च अदालतले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई वैधानिक मान्यता दिएको थियो। यससँगै कांग्रेसभित्रको कानुनी विवाद टुंगिएको छ, तर राजनीतिक व्यवस्थापन अझै चुनौतीपूर्ण रहेको नेताहरूको भनाइ छ ।

विश्वकर्माका अनुसार, अब पार्टीलाई कसरी अघि बढाउने भन्ने मुख्य जिम्मेवारी सभापति थापामाथि आएको छ। “हिजोसम्म देउवामा रहेको नेतृत्वको बल अहिले सर्वोच्चको निर्णयले थापामा हस्तान्तरण गरेको छ,” उनले भने।

बैठकले पूर्णबहादुर खड्कालाई निवर्तमान कार्यवाहक सभापतिको रूपमा स्वीकार गर्ने निर्णय पनि गरेको छ। यसअघि उनी कार्यवाहक सभापतिका रूपमा सक्रिय थिए।

त्यस्तै, देउवा पक्षका नेताहरूले आइतबार पूर्वकेन्द्रीय सदस्यहरूको बैठक बोलाएका छन्। उक्त बैठकमा आगामी रणनीति, पार्टी एकता र संगठन सुदृढीकरणका विषयमा विस्तृत छलफल हुने जनाइएको छ।

नेता प्रकाशशरण महत ले पूर्वकेन्द्रीय सदस्यहरूको बैठकपछि देशभरका नेता–कार्यकर्तासँग परामर्श गरी पार्टीलाई एकढिक्का बनाउने प्रयास गरिने बताए। उनले १५औँ महाधिवेशन सहमतिमै सम्पन्न गर्न दुवै पक्षको सहभागितामा साझा संयन्त्र निर्माण गर्नुपर्ने प्रस्ताव पनि अघि सारे।

महतले वर्तमान केन्द्रीय कार्यसमितिका निर्णयहरू एक पक्षीय रहेको टिप्पणी गर्दै व्यापक सहभागितासहितको संरचना आवश्यक रहेको बताए।

यता, कांग्रेसभित्र कानुनी विवाद टुंगिए पनि राजनीतिक समायोजन, नेतृत्व व्यवस्थापन र भावनात्मक एकताको चुनौती अझै बाँकी रहेको देखिएको छ। अब पार्टी एकताको दिशा र भविष्यको रणनीति निर्धारणमा सभापति गगन थापाको भूमिका निर्णायक हुने नेताहरूको भनाइ छ।

प्रकाशित मिति : ५ बैशाख २०८३, शनिबार  ११ : ०७ बजे