२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025

प्रधानमन्त्री ओली र कांग्रेस सभापित देउवाबीच बालुवाटारमा भेट



काठमाडाैं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच शुक्रबार भेटघाट भएको छ ।

प्रधानमन्त्रीको निमन्त्रणामा बालुवाटारमा भएकाे भेटमा सभापति देउवाले सरकारले दुवै अध्यादेश फिर्ता लिएकामा प्रधानमन्त्रीलाई धन्यवाद दिँदै एक सांसदलाई अपहरण शैलीमा काठमाडौँ ल्याउने घटनामा संलग्नलाई कारवाहीको माग गरेकाे कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । उक्त घटनाका दोषीलाई कारवाही गर्नुपर्ने माग देशभरी उठेको र आफ्नो माग पनि यही रहेको उल्लेख गर्दै सभापति देउवाले देशमा कानूनी राज्य छ भने निष्पक्ष अनुसन्धान र कारवाही हुनुपर्ने बताएका थिए ।

सरकारले यही वैशाख ८ गते जारी गरेका संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी दुई अध्यादेशको सर्वत्र विरोध भएपछि आज खारेज गरेको छ । कोरोना भाइरसको सङ्क्रमण रोक्न व्यापक परीक्षण अहिलेको आवश्यकता भएको र समुदायस्तरमा व्यापक परीक्षण गर्न ढिलो नगरौँ भनेर प्रधानमन्त्रीसमक्ष आग्रह गर्दै सभापति देउवाले स्वास्थकर्मीलाई पिपिईलगायतका आवश्यक सामग्री यथाशिघ्र पुर्याउन सुझाव दिएका थिए । साथै उनले स्वास्थकर्मीलाई हतोत्साहित गर्न खोज्ने कुनै पनि कार्य तुरुन्तै रोक्नुपर्ने बताएका थिए ।

भेटमा सभापति देउवाले श्रमिकलाई कि खान दिनोस् कि गाउँ जान दिनोस् भन्दै राहत घोषणा अधुरो भएको, पुग्नुपर्नेकोमा अझै नपुगेको, श्रमिक, बेरोजगार, विद्यार्थी र साना ठूला सबै व्यवसायीका लागि तत्काल अर्को राहत प्याकेज ल्याउन सुझावसमेत दिए थिए । विदेशमा रहेका नेपालीले देशलाई रेमिट्यान्स पठाएर योगदान गरिरहेको उल्लेख गर्दै उनले आज उनीहरु अप्ठ्यारो परेको स्थितिमा उद्धार गर्ने बारे तत्काल योजना सार्वजनिक गरी कार्यान्वयन गर्नुपर्ने बताएको मुख्य सचिव पौडेलले जानकारी दिए ।

सभापति देउवाले कोरोनाको जोखिमसँग लडिरहँदा अब विवाद्का कुनै कुरा नल्याउन सुझाव दिँदै प्रधानमन्त्रीलाई थप सजग पनि गराएको कांग्रेसले जनाएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०७७, शुक्रबार  ७ : २९ बजे