१८ मंसिर २०८०, सोमबार | Tue Dec 5 2023

नेकपा स्थायी कमिटी बैठक पुस १ गते बस्ने



काठमाडौँ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको बैठक आगामी पुस १ गते बस्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको बैठक पार्टीका केन्द्रीय सदस्य कमानसिंह लामाको निधनमा शोक प्रकट गर्दै स्थगित भएको थियो । कोरोना सङ्क्रणका कारण लामाको यही मङ्सिर २५ गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा निधन भएको थियो ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता लामाको निधनपछि एक जलविद्युत् आयोजनाको सम्बन्धमा नाम जोडेर पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठलाई अनेकन लाञ्छना लगाई गरिएको प्रचारप्रति दुःख व्यक्त गर्दै त्यस्तो भ्रममा नपर्न आग्रह गरेका थिए ।

अध्यक्ष प्रचण्डले जलविद्युत् आयोजनाका सम्बन्धमा देखिएको विवाद मिलाउनेतर्फ प्रवक्ता श्रेष्ठले पहल गरेको र मिल्न सुझाव दिएको बताए । बैठकपछि प्रवक्ता श्रेष्ठले सञ्चारकर्मीलाई अन्य विषयमा भने छलफल नभएको जानकारी दिए ।

प्रधानमन्त्री केपी ओली र दहाल–माधव नेपाल गुटबीचको विवाद चर्किएपछि स्थायी समितिको बैठक बोलइएको हो । एक साता अघि बैठक बसेर थप अध्ययन तथा अनौपचारिक छलफलका लागि भनेर बैठक स्थगित गरिएको थियो ।

दाहाल र ओलीले एक अर्कालाई दोषारोपण गर्दै प्रतिवेदन सचिवालय बैठकमा प्रस्तुत गरेपछि विवादले चरम रुप लिएको हो । धेरैले नेकपा फुट्नेसमेत आशंका गरेका छन् । आजको बैठक निर्णायक हुन सक्ने बताइए पनि स्थागित गरिएको हो ।

प्रकाशित मिति : २८ मंसिर २०७७, आइतबार  ५ : ४० बजे