पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिमा प्रतिशोध र निषेधको भावना राख्न नहुने बताएका छन् । सोमबार साँझ नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले राष्ट्रिय एकता, सहकार्य र संवादमार्फत मुलुकलाई अगाडि बढाउनुपर्नेमा जोड दिएका हुन् ।
उनले निषेध, फुट, द्वन्द्व र विद्रोहले राष्ट्रलाई कमजोर बनाउने उल्लेख गर्दै राजनीतिमा आपसी द्वेष र प्रतिशोधको स्थान नहुने स्पष्ट पारे । “निषेध, फुट, द्वन्द्व र विद्रोहले हामी कमजोर हुन्छौँ । परस्परको राग, द्वेष, प्रतिशोध र निषेध राजनीतिमा हुनुहुँदैन,” सन्देशमा भनिएको छ। उनले जनचाहनालाई मनन गर्दै देशलाई केन्द्रमा राखेर संवाद, सहमति र सहकार्यको माध्यमबाट सबै पक्षका माग सम्बोधन हुने संवैधानिक समाधान खोज्न आह्वान गरेका छन्।
पूर्वराजा शाहले वर्तमान वैश्विक परिस्थितिलाई संकेत गर्दै देशमा कुनै प्रकारको व्यवधान आउन नदिन सरकार सजग रहनुपर्ने बताएका छन्। उनले राष्ट्रिय उत्पादन, आपूर्ति व्यवस्थापन र आन्तरिक स्थिरतामा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।
उनले नेपाललाई लामो समयसम्म राजनीतिक प्रयोगको थलो बनाइएको टिप्पणी गर्दै यसबाट अपेक्षित विकास हुन नसकेको बताएका छन्। “राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा धेरै हेरफेर भए पनि त्यो कोरा परिवर्तन मात्र भयो,” उनले भनेका छन्। उनका अनुसार निरन्तर प्रयोग र विकल्पको खोजीमा देश अल्झिँदा समग्र समृद्धिमा अपेक्षित प्रगति हुन सकेन।
आगामी दिनमा विगतका कमजोरी सच्याउँदै मुलुकलाई प्रगतिको मार्गमा अघि बढाउनुपर्नेमा उनले जोड दिएका छन्। “समयको प्रवाहसँगै देश र समाजलाई प्रगति पथमा अघि बढाउनुपर्छ। विगतका कमी कमजोरी सच्याउँदै उच्चतम गन्तव्यतर्फ लम्किनुपर्छ,” सन्देशमा उल्लेख छ।
नयाँ वर्ष २०८३ को शुभकामना दिँदै उनले नेपाललाई शान्ति, समृद्धि र मौलिक पहिचानले सम्पन्न राष्ट्रका रूपमा विकास होस् भन्ने कामना गरेका छन्। साथै, सबै नेपालीले न्याय, शान्ति र समृद्ध जीवन प्राप्त गरून् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।








