न्युयोर्क । नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले नेपालका प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभाको विघटन गरिनुलाई गैरसंवैधानिक कदमको संज्ञा दिंदै लोकतान्त्रिक तथा नागरिक अधिकारका पक्षपातीहरुको आन्दोलनमा ऐक्यवद्धता जनाउने भएको छ ।
उसले बिज्ञप्ती जारी गरी प्रधानमन्त्री ओलीले सार्वभौम संसदको प्रतिनिधि सभा विघटन गर्ने सिफारिस गरेको घटनाले नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र माथि गम्भिर बज्रपात हुनपुगेको पनि उल्लेख गरेको छ ।
नेजाका महासचिव किरण मरहठ्ठाले एक बिज्ञप्ती जारी गरी प्रधानमन्त्री ओलीको गलत कदमको सदर गर्दै सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधि सभाको विघटन र नयाँ निर्वाचनको मिति तोकिनुले नेपाल गम्भिर राजनीतिक संकटमा होमिएको पनि उल्लेख गरेका छन् ।
‘प्रधानमन्त्री ओलीको यो कदम जनआन्दोलनको बलमा स्थापित संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन व्यवस्था र संविधानसभाद्वारा जारी संविधानको मर्म विरुद्ध भएको नेपाल अमेरिका पत्रकार संघ (नेजा) को ठहर छ’ बिज्ञप्तीमा भनिएको छ, ‘झण्डै दुई तिहाइ बहुमत बोकेको सरकारले शासन व्यवस्थाको मजबुतीकरण, विधि र कानूनी शासनको पालन गर्दै जनहितमा काम गर्नुपर्ने जनअपेक्षाका विपरित प्रधानमन्त्रीबाट चालिएको यो कदम नितान्त व्यक्तिगत दम्भको उपज हो ।’