५ असार २०८२, बिहिबार | Thu Jun 19 2025

न्यूयोर्कबाट एनवाईसीनेपाल न्युजडटकम शुरु, समुदायसँग हात्तेमालो गरेर अघि बढ्ने प्रतिबद्धता




न्यूयोर्क । अमेरिकामा रहेका नेपाली समुदायको गतिविधि र सवालहरुलाई प्रकाशन/प्रशारण गर्ने उदेश्य राखेर न्यूयोर्कबाट नेपाली भाषामा अनलाईन समाचार पोर्टल एनवाईसी नेपाल न्युज डटकम शुरु भएको छ ।

अनलाईनको आइताबार न्यूयोर्क सिटीको क्वीन्समा नेपाली महाबाणिज्यदूताबासका कार्यबहाक महावाणिज्यदूत चक्र सुवेदीले उद्घाटन गरेका हुन् । उद्घानटन समारोहमा नेपाली समुदायका अगुवाहरुकासाथै न्यूयोर्कका एसेमब्ली मेम्बर तथा काउन्सीलम्यानका प्रतिनिधिहरुको समेत सहभागिता थियो । एवाईसी नेपाल कम्युनिटी मिडिया नेटवर्कले प्रकाशन गरेको यो मल्टीमिडिया अनलाइन न्यूयोर्कबाट प्रकाशन भएको पहिलो सामुदायिक मिडिया हो ।

उद्घाटन समारोहमा बोल्दै कार्यबहाक महावाणिज्यदूत सुबेदीले नेपाली समुदायका लागि सामुदायिक मिडिया शुरु हुनु अत्यन्त सकारात्मक भएको बताउँदै यो सञ्चार माध्यमले नेपाली समुदायको सशक्तिकरणमा थप बल पुग्ने विश्वास व्यक्त गरे । अमेरिकाबाटै सन् १९६८ बाट शुरु भएको सामुदायिक सञ्चार माध्यामको अवधारणा ढिलै भएपनि न्यूयोर्कबासी नेपाली समुदायमा पनि शुरु हुनु सकारात्मक रहेको उनले बताए । कार्यबहाक महावाणिज्यदूत सुबेदीले समुदायको हितकोलागि स्थापना भएको सञ्चार माध्यमसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

कार्यक्रममा नेपाली भाषी आप्रावासी अधिकारवादी संस्था अधिकारका सहकार्यकारी निर्देशक नर्बदा क्षेत्रीले सामुदायिक सञ्चार माध्यमको धेरै महत्व रहेको उल्लेख गर्दै नेपाली समुदायमा देखा परेको विविध सवाल र सरोकारहरुलाई उठान गर्न सक्नुपर्ने बताए । उनले अमेरिकामा हुन गइरहेको राष्ट्रपति निर्वाचनमा आप्रावासी सरोकारका बारेमा सजगता गराउँदै निर्वाचनमा सहभागिता बढाउन मिडियाले भूमिका खेल्नुपर्ने बताए । मिडियाले सधै निश्पक्ष भएर समाचारहरु प्रकाशन/प्रशारण गर्नुपर्ने उनको धारणा थियो ।

उद्घाटन समारोहमा गैरआवसीय नेपाली संघ एनआरएन न्यूयोर्क च्याप्टरका कार्यबहाक अध्यक्ष छिरिङ शेर्पाले सामुदायिक मिडियाको महत्व रहेको भन्दै यसको निरन्तरताको कामना गरे । यस्तै नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका कार्यबहाक अध्यक्ष तुलबहादुर तामाङले मिडियाले निश्पक्ष भएर आफ्ना सामाग्रीहरु प्रकाशन प्रशारण गर्नुपर्ने बताए ।

कार्यक्रममा क्र्याग न्युमार्क ग्राजुयट स्कुल अफ जर्नालिज्मका सञ्चार निर्देशक जेहानगिर खत्ताकले न्यूयोर्क शहरमा मात्र झण्डै २०० भाषा बोल्ने नागरिकहरु रहेको भन्दै विविधतालाई अझ प्रवर्द्धन गर्न यो नेपाली भाषी अनलाइनले महत्वपूर्ण भुमिका खेल्ने बताए । उनले सामुदायिक सञ्चार माध्यमले समुदायका मानिसहरुलाई नागरिक अधिकार, राजनीतिक अधिकार आदिमा राज्यसँग जोड्न सक्नुपर्ने बताए । नागरिकलाई हरेक क्षेत्रमा शक्तिकरण गर्नका लागि सञ्चार माध्यमको भूमिका महत्वपूर्ण हुने उनको भनाई थियो ।

नेपाल अमेरिका पत्रकार संघ नेजाका अध्यक्ष सुरज भण्डारीले नेपाली समुदाय पनि विस्तारै अमेरिकाको राजनीतिक, आर्थिक क्षेत्रको मूलधारमा प्रवेश गरिरहेकाले यसप्रकारका सशक्त सञ्चार माध्यमहरु आवश्यक रहेको बताए । उनले सञ्चार माध्यमको दीगोपना निकै चुनौतिपूर्ण रहेको भन्दै यसको लागि सामुदायले पनि सोच्चुपर्ने बताए ।

उद्घाटन समारोहमा आप्रावासी अधिकारवादी संस्था ड्रमका राजनीतिक निर्देशक जगप्रीत सिंह, डिस्ट्रिक ३६ का एसेमब्ली मेम्बर जोरान मण्डानीको कार्यालयका सञ्चार निर्देशक बन्जामिन वाल्कर, डिस्ट्रिक ३० का एसेमब्ली मेम्बर स्टेभेन रागको कार्यालयका डिस्ट्रिक निर्देशक डोल्मा लामा लगायत विभिन्न नेपाली संघसंस्थाका प्रमुख तथा पदाधिकारीहरुले नयाँ प्रकाशन एनवाईसी नेपाल न्यूजको प्रगतिको कामाना गर्दै सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सो अवसरमा एनवाइसीनेपाल न्युजका कार्यकारी सम्पादक लोकमणी राईले सामुदायिक संचारको आवश्यकता र दीगोपनाको बारेमा कार्यपत्र प्रस्तुत गर्दै आप्राबासी समुदायले आफ्ना सरोकारका विषयहरु राज्यसंग प्रभावकारी ढंगले राख्न नसक्दा सरकारले पनि बेवास्ता गर्ने गरेकोले यस संचार माध्यमले स्थानीय र राज्य सरकारवीच पुलको भुमिका खेल्ने उल्लेख गरे । नेपाली समुदायलाई स्थानीय राजनीतिसंग जोड्न अपरिहार्य रहेको भन्दै राजनीतिक सशक्तिकरण आजको आवश्यकता रहेको राईले बताए । अन्तरक्रिया कार्यक्रममा सहभागि जनाउदै नेपाली समुदायका अगुवाहरुले समुदायलाई सशक्तिकरण गर्न सामुदायिक संचारको आवश्यकता रहेकोले संचारमाध्यम र समुदायसंगसंगै अघि बढ्नुपर्ने बताएका थिए। सो अवसरमा एनवाइसीनेपाल न्युजका प्रधानसम्पादक मोहनसिंह लामा र सम्पादक मच्छे गुरुङले अनलाईनको उदेश्य र योेजनाको बारेमा जानकारी दिएका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०८१, शुक्रबार  १० : ३६ बजे