२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

उपत्यकाको निषेधाज्ञा खुकुलो, निजी सवारीमा जोर बिजोर लागु हुने



काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउँदै एक साता थपिएको छ । बुधबारदेखि सुरु हुने खुकुलो निषेधाज्ञा असार १४ गतेसम्म जारी रहने छन् ।

काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको आइतबार साँझ ५ बजे बसेको बैठकले असार १४ गतेसम्म निषेधाज्ञा केही खुकुलो प्रावधानका साथ लम्ब्याउने निर्णय गरेको हो ।

बैठक पछि जारी गरेको आदेश अनुसार निजी सवारी साधन जोर–विजोर प्रणालीमा चलाउन पाइनेछ भने बार अनुसार पसल सञ्चालन गर्न पनि पाइनेछ । निषेधाज्ञाको समयमा ट्याक्सी पनि जोर विजोर प्रणालीमा चल्नेछ । तर अन्य सार्वजनिक सवारीसाधन भने चलाउन पाइने छैन ।

पसलहरु पनि बार अनुसार खोल्ने मिल्ने बनाइएको छ । जस अनुसार आइतबार, मंगलबार र बिहीबार सुनचाँदी, भाँडा, विद्युतीय, घरायसी सामान विक्री गर्ने पसल सञ्चालन हुनेछन् । अटोमोबाइल्स र त्यसका पार्टपूर्जा पाइने पसल पनि खुल्नेछन् ।

सोमबार, बुधबार र शुक्रबार सपिङ मल, खेलकुद सामग्री पसल, कपडा र जुत्ता पसल खोल्न दिने निर्णय भएको अधिकारीले बताए । यही दिनमा फेन्सी, कस्मेटिक, गिफ्ट र टेलरिङका पसल पनि खुल्नेछन् ।बारका आधारमा खुल्ने पसललाई बिहान ११ देखि ४ बजेसम्म समय तोकिएको छ । खाद्यान्न, फलफूल र तरकारी खुल्ने समय पनि यथावत छ ।

यस्तो छ निषेधाज्ञाको सूचना

प्रकाशित मिति : ६ असार २०७८, आइतबार  ९ : १३ बजे