७ श्रावण २०८३, बिहिबार | Fri Jul 24 2026

इरान–अमेरिका तनावमा मध्यस्थतापछि पाकिस्तानले अमेरिकासँग १० अर्ब डलर सहायता माग्यो



इरान–अमेरिका तनाव कम गराउन कूटनीतिक भूमिका खेलेपछि पाकिस्तानले अमेरिकासँग पाँच वर्षका लागि १० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता माग गरेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार पाकिस्तानले अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसमक्ष उक्त सहायता उपलब्ध गराइदिन आग्रह गरेको हो।

रोयटर्सका अनुसार पाकिस्तानले इरान र अमेरिकाबीच युद्धविराम गराउने प्रयासमा सक्रिय भूमिका निर्वाह गरेको थियो। साथै, दुई देशबीच दीर्घकालीन समझदारीमार्फत तनाव अन्त्य गराउने कूटनीतिक पहलमा पनि पाकिस्तान संलग्न रहेको बताइएको छ। यद्यपि, स्थायी सहमति भने अहिलेसम्म हुन सकेको छैन।

क्षेत्रीय संकट समाधानमा आफ्नो भूमिका बढेपछि पाकिस्तानको कूटनीतिक प्रभाव विस्तार भएको र अमेरिकासँगको सम्बन्ध पनि थप सुदृढ बनेको विश्लेषण गरिएको छ। यही अनुकूल वातावरणलाई आधार बनाएर पाकिस्तानले आर्थिक सहायता मागेको र वासिङ्टनबाट सकारात्मक प्रतिक्रिया आउने अपेक्षा गरिएको रोयटर्सले जनाएको छ।

अमेरिकी अर्थ मन्त्रालयले सहायता मागबारे सार्वजनिक रूपमा कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ भने पाकिस्तानको अर्थ मन्त्रालयले पनि यस विषयमा तत्काल प्रतिक्रिया दिएको छैन।

यद्यपि, पाकिस्तानी अर्थमन्त्री मुहम्मद औरंगजेबले मंगलबार वासिङ्टनमा अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टसँग भेटवार्ता गरेका थिए। पाकिस्तानको अर्थ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा क्षेत्रीय भू–राजनीतिक घटनाक्रमले पाकिस्तानी अर्थतन्त्रमा पार्ने प्रभावबारे छलफल भएको उल्लेख भए पनि १० अर्ब डलर सहायता मागिएको विषय समेटिएको छैन।

हाल पाकिस्तान उच्च मुद्रास्फीति, विदेशी मुद्रा अभाव र आर्थिक दबाबसँग संघर्ष गरिरहेको छ। प्रस्तावित सहायता स्वीकृत भए विदेशी मुद्रा सञ्चिति बढ्ने, पाकिस्तानी रुपैयाँमाथिको दबाब कम हुने तथा अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) माथिको निर्भरता घट्ने अपेक्षा गरिएको छ।

पाकिस्तान अहिले आईएमएफको ७ अर्ब अमेरिकी डलरको विस्तारित सहायता कार्यक्रमअन्तर्गत कर वृद्धि, सरकारी खर्च कटौती र संरचनात्मक आर्थिक सुधारका कडा सर्त कार्यान्वयन गरिरहेको छ।

यसअघि सन् २०२३ मा पाकिस्तानले आईएमएफबाट ३ अर्ब अमेरिकी डलरको आपत्कालीन सहायता प्राप्त गरेपछि सम्भावित आर्थिक संकट टारेको थियो। त्यसपछि उसले ७ अर्ब डलरको विस्तारित कोष सुविधा तथा जलवायु परिवर्तन र प्राकृतिक विपद् व्यवस्थापनका लागि थप १.३ अर्ब डलर ऋण पनि प्राप्त गरेको छ।

यद्यपि, पाकिस्तानको विदेशी मुद्रा सञ्चिति अझै चीन, साउदी अरब तथा अन्य साझेदार राष्ट्रबाट प्राप्त निक्षेप र ऋण नवीकरणमा निर्भर रहेको छ। त्यसैले अमेरिकासँग मागिएको १० अर्ब डलरको सहायता पाकिस्तानका लागि आर्थिक मात्र नभई कूटनीतिक र रणनीतिक दृष्टिले पनि महत्वपूर्ण मानिएको छ।

प्रकाशित मिति : ७ श्रावण २०८३, बिहिबार  १० : ५६ बजे