मुलुकभर बेमौसमी बर्सात: कम्तीमा तीन जनाको मृत्यु, तराई क्षेत्रमा सुकाएको धान बगायो

२०७८ कार्तिक २, मंगलवार १६:२०

काठमाडौं । दशैं लगतै आएको वेमौसमी वर्सातले धनजनको क्षती पुर्याएको छ । विभिन्न स्थानमा गरेर कम्तीमा तीन जनाको मृत्यु भएको छ भने काटेर सुकाएको धान बगाउँदा खाद्य समस्या उब्जने खतरा बढेको छ ।

बाढी र पहिरोमा फसेकाहरुको उद्दारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी खटिएका छन् । कतिपय स्थानमा हेलिकप्टरको प्रयोग गरेर फसेकाशरुलाई उद्दार गर्नु परेको छ ।

तीन दिनदेखिको लगातारको वर्सातका कारण डोटीको सायल गाउँपालिका–६ मेल्लेखमा पहिरो जाँदा घर भत्किँदा च्यापिएर दुईजनाको मृत्यु भएको छ । मृत्युहुनेमा सायल–६ मेल्लेखका सागर र ११ आशिष कुन्जेडा छन् ।

जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता तथा प्रहरी निरीक्षक रवीन्द्र चन्दका अनुसार वर्सातले स्थानीयवासी वीरबहादुर कुन्जेडाको घर भत्किँदा च्यापिएर उनीहरुको मृत्यु भएको हो । च्यापिएका शव निकाल्न तथा थप उद्धारका लागि इलाका प्रहरी कार्यालय मौवाबाट प्रहरी निरीक्षक किसन चन्दको नेतृत्वमा प्रहरी टोली परिचालन भएको बताइएको छ । जिल्लामा वर्सातका कारण विभिन्न ठाउँमा क्षति भएका भए पनि सञ्चार सम्पर्क विच्छेद भएको छ ।

त्यसैगरी डडेल्धुरामा घरमाथिबाट आएको पहिरामा पुरिएर एकजनाको मृत्यु भएको छ । मृत्युहुनेमा गन्यापधुरा गाउँपालिका–१ भात्काडाका ३२ वर्षीय विष्णु अवस्थी रहेका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार आइतबार रातिदेखि निरन्तर आएको वर्षाका कारण घरमाथिबाट गएको पहिरामा पुरिएर अवस्थीको ज्यान गएको हो । जिल्लामा फोन नेटवर्क र विद्युत्समेत अवरुद्ध हुँदा अन्य क्षतिका बारेमा यकिन गर्न सकिएको छैन ।

यस्तै अमरगढी नगरपालिका–१ मा गएको पहिरामा परी दुईजना घाइते भएका छन् । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ । नदी र तटीय क्षेत्रहरुमा निरन्तरको वर्षाका कारण बाढी पनि बढेकाले उच्च जोखिम रहेको हँुदा सतर्कता अपनाउन सबैलाई जिल्ला प्रशासन कार्यालयले अपिल गरेको छ ।

चैनपुर बाढीको उच्च जोखिममा

बझाङमा अविरल वर्षासँगै सेती नदीमा आएको बाढीले बझाङ उच्च जोखिममा परेको छ । आइतबारदेखि भएको अविरल वर्षाका कारण सेती, कालङ्गा नदी र बाहुली खोलालगायत साना ठूला खोलामा पानीको वहाव बढेको छ । नदीमा पानीको वहाव बढेपछि जिल्ला प्रशासन कार्यालय बझाङले सूचना प्रकाशित गरी बाढीले खतराको सङ्केत नजिक पुगेकाले सावधानी अपनाउन सबैसँग आग्रह गरेको छ । नदीको वहाब बढेकाले काठ उतार्न, माछा मार्न, पानीसँग खेल्न र नदी खोला नजिक नजान सबैमा आग्रह गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । नदी, खोला नजिक गएर दाउरा, बालुवा, गिट्टी, सङ्कलन नगर्न र नदी खोलामा नुहाउन, माछा मार्न तथा जरुरी काम बाहेक एक्लै हिँड्ने काम नगरी उच्च सर्तकता अपनाउन पनि स्थानीय प्रशासनले सबैसँग आग्रह गरेको छ ।

सेती नदी र बहुलीगाड खोलामा पानीको वहाव बढेपछि बझाङ सदरमुकाम चैनपुर बाढीको उच्च जोखिममा छ । जोखिम बढेसँगै सदरमुकामवासीमा कुन बेला सदरमुकाम बगाउने हो भन्ने चिन्ता छाएको स्थानीयवासी निरनराम जोशीले बताए । उनका अनुसार सेती र बाहुली खोलाले सदरमुकाम आसपासको कतै न कतैको जमिन हरेक वर्ष कटान गरेकै हुन्छ ।

बहुलीगाडले बेला-बेलामा आफ्नो धार परिवर्तन गर्दै आएको छ । सदरमुकामको पूर्वी भागबाट बग्ने सेती नदी र पश्चिमी क्षेत्रबाट बग्ने बाहुलीगाडमा बाढी आएमा एउटै रेखामा पर्न सक्ने र यसले

सुदूरपश्चिम प्रदेशका ६ पहाडी जिल्लाको विद्युत र टेलिफोन सेवा पूणर्रुपमा अवरुद्ध भएको छ । लगातारको वर्षापछि सोमबार साँझदेखि दार्चुला, बैतडी, डडेलधुरा, डोटी, बझाङ, अछाम र बाजुरामा सञ्चार सम्पर्क विच्छेद भएको प्रहरीले जनाएको छ ।

सञ्चार सम्पर्क विच्छेद हुँदा पहाडी जिल्लामा बाढी तथा पहिरोका कारण भएको क्षतिको विवरण सङ्कलन गर्न नसकिएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक विक्रम चन्दले जानकारी दिए ।

विद्युत् प्राधिकरणका अनुसार वर्षासँगै आएको हावाहुरीले पहाडी जिल्लाका विभिन्न स्थानमा विद्युत् पोल तथा ट्रान्सफर्मरमा क्षति पुगेको छ । नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक कार्यालयका प्रमुख नामाकर न्यौपानेले पहाडी जिल्लामा विद्युत् नभएकै कारण नेपाल टेलिकमको टेलिफोन सेवा पनि पूणर् रुपमा अवरुद्ध भएको जानकारी दिए ।

राजमार्ग पनि अवरुद्ध

अविरल वर्षासँगै आएको बाढी-पहिरोका कारण बझाङको जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । केदारस्यूँ गाउँपालिका-१ नारुगौडास्थित बाढीले सडक बगाएपछि सो राजमार्ग अवरुद्ध बनेको हो । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको भए पनि वर्षाका कारण नारुगौडामा पानीको बहाव बढेकाले राजमार्ग खुलाउने काम प्रभावित भएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताउनुभयो । राजमार्ग अवरुद्ध हुँदा बझाङ भित्रिने र बझाङबाट काठमाडौँ, धनगढी, महेन्द्रनगर, डडेल्धुरा, बैतडीलगायतका स्थानका लागि छुटेका सवारीसाधन र यात्रुबीच बाटोमै अलपत्र परेका छन् ।

त्यस्तै वर्षाका कारण काटेर भित्र्याउने तयारीमा रहेका धानबालीमा ठूलो क्षति पुर्‍याएको छ । पाकेको धान पानीले नोक्सान पारेपछि किसान चिन्तित भएका छन् । लगातारको वर्षाले सेती र कालङ्गा नदीका तटिए क्षेत्रका खेतमा पाकेको धान बटुल्नै नमिल्ने गरी डुवेको छ ।

धेरै ठाउँमा किसानले खेतमा पाकेको धान काट्न नपाएर खेतमै झर्ने अवस्था पुगेको छ । काटेर सुकाउन राखिएको धानमा क्षति पुगेको जयपृथ्वी नगरपालिका- ५ का नरेस सिंहले बताउनुभयो । धान काटिसकेको भए पनि चुट्न बाँकी रहेको र धान काटेर खेतमै सुकाउन राखेको अवस्थामा पानी पर्दा धानमा क्षति भएको उहाँको भनाइ छ । पानीले जयपृथ्वी नगरपालिकाको गोलाइ जिउलो, डुग्री, पडेस, साइलाबगर, केदारस्युँ गाउँपालिकाको झोता, देउरा, बुङगल नगरपालिकाको सट्टाय, बिजगडा, गिरांैलगायतका जिउलामा काटेर सुकाउन राखिएको धान पानीले भिजेर क्षति भएको हो । बाहुली खोलामा आएको बाढीले जिल्ला सदरमुकाम चैनपुरको खोला छेउमा रहेका दुई वटा पोल्टी फर्म, बङ्गुर फर्म बगाएको छ ।

सडक अबरुद्ध लगातारको वर्षाले ग्रामीण सडक अवरुद्ध हुँदा आएपछि दसैँ मनाएर कार्यक्षेत्रमा फर्किने समस्यामा परेका छन् । टीका थाप्न आफन्तकामा गएका व्यक्तिले समेत ग्रामीण सडकका कारण सास्ती भोग्नुपरेको छ । खुलेको मौसममा दसैँ मनाइरहेकाहरूलाई आइतबार रातिदेखि निरन्तर भइरहेको वर्षाका कारण समस्या उत्पन्न भएको छ । कालोपत्र सडकको सुविधा भएको ठाउँमा वर्षाकै बीचमा पनि सवारी फाट्टफुट्ट चले पनि ग्रामीण क्षेत्रमा आउजाउ गर्ने गाडी सञ्चालनमा समस्या हुँदा गन्तव्यमा फर्किनेलाई सास्ती भएको पीडितहरुले बताएका छन् ।

दसैँ मनाउन घरमा आउनुभएका ज्यामरुककोटका योगराज शर्मालाई आफ्नो कार्यक्षेत्र दाङमा पुग्न समस्या भएको छ । वर्षाका कारण पहिरो र सडकमा बगेको लेदोले गर्दा बेनी–जोमसोम सडक खण्डको काभ्रेभिर, रुप्से छहरा लगायतका स्थानमा सडक अवरुद्ध हुँदा यात्रीहरु अलपत्र पर्ने गरेका छन् । उता जाँदा गाडीमा घोडेपानी नजिक पुगेकाहरु पmर्किने समयमा पानी परेर गाडी नचलेपछि पैदल नै बेनी आउन बाध्य भएका स्थानीय पर्यटन व्यवसायीहरुले बताएका छन् ।

सिन्धुपाल्चोकमा पनि यातायात अबरुद्ध भएको छ । अविरल वर्षासँगै आएको बाढीका कारण ह्युमपाइप राखेर बनाइएको बाटोमा क्षति हुँदा यातायात सेवा अवरुद्व भएको छ ।

गत असार १ र त्यसपछिको बाढीले पक्की पुल बगाएपछि हेलम्बुको चनौटे, मेलम्चीको फट्टे र ईन्द्रावती, पाँचपोखरी जोड्ने मेलम्ची तल्लो बजारमा ह्युपाइप राखेर बनाइएको बाटोमा क्षति पुगेको हो ।

‘जाग्राम बसेर बचाएको धानबालीलाई वर्षाबाट जोगाउन सकिएन’

झापामा तीन दिनदेखि लगातार परेको वर्षाका कारण जिल्लामा पाक्नै लागेको धानबालीमा ठूलो क्षति पुगेको छ । पानीले धान ढालेर र काटेको धान पानीको डुबानमा परेर क्षति पुगेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लामा १५ हजार हेक्टरभन्दा बढी जमिनको धान पानीले ढलेको केन्द्रका बाली विज्ञ शालिकराम भट्टाराईले जानकारी दिए । उनका अनुसार जिल्लामा ८७ हजार ५०० हेक्टरमा धान खेती छ । किसानले लगाएको गरिमा, रामधान र रञ्जितलगायत अधिकांश धान पाकेर पहेँलपुर भएको थियो । धान पाके पनि किसानले दसैँका कारण धान थन्क्याउन पाएका थिएनन् ।

ज्ञान केन्द्रमा पाकेको धान लडेर र डुबेर क्षति पुगेको जिल्लाका विभिन्न स्थानका किसानबाट धामधाम जानकारी आइरहेको उनले बताए । “किसानको धेरै गुनासो आएपछि आजैदेखि हामीले अनुगमन सुरु गरेका छौँ,” उनले भने, “धान खेत पुगेर हेर्दा बिरक्त लाग्नेछ । पाकेको धान पूरै लडेर पानीमा डुबेको छ । भोलिदेखि नै घाम लागेन भने त्यो खानयोग्य पनि हुँदैन ।”

महाकाली नदीको बाढीले खतराको सतह नाघ्यो

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्ण जोशीले महाकाली नदीले भत्काएका पहुँच मार्गका संरचनाको स्थलगत निरीक्षण तथा अवलोकन गरेका छन् ।

सो अवसरमा उनीहरुले पहुँच मार्ग भत्किएपछि यसबाट हुने क्षतिबारे स्थानीय बासिन्दासँग जानकारी लिए । महाकाली नदीको बाढी पसेर डुवानमा परेका परिवारलाई समेत भेटघाट गर्दै मन्त्री खड्काले तत्काल राहत र अन्य सहयोगका लागि कार्य अगाडि बढाउन सरकार तत्पर रहेको बताएका छन् । बाढी प्रभावित क्षेत्रका बासिन्दाको उद्धार कार्यलाई प्रभावकारी बनाउन सुरक्षा नियकालाई निर्देशन दिदैं उनले भने, “थप के सहयोग चाहिन्छ, त्यसका लागि प्रदेश सरकार कटिबद्ध छ ।”

महाकाली नदीको बाढीले चार लेनको पहुँच मार्गको डेढ किलोमिटर सडक खण्ड भत्काएको छ । नदीको उच्च बहावका कारण सो सडकखण्ड भत्किएको हो ।

बाढीले भुजेला खोलादेखि दक्षिण र पुल निर्माण उत्तरको क्षेत्रमा पहुँच मार्ग भत्काएको छ । नदीले अझै सडक कटानको कार्य जारी राखेको छ । पहुँच मार्ग भत्किएपछि महाकाली नदीको बाढी बस्तीमा पसेको छ । स्थानीयवासीका अनुसार भिनपा १२ को वडा कार्यालय, अस्फाल प्लान्ट एरिया र आयोजना क्याम्पमा पनि बाढी पसेको छ ।

सम्बन्धित समाचार