बौद्धधर्मवलाम्बी शेर्पा समुदायको महान चाड २१४९ औ छुफो तक्ल्हो ल्होसारको अवसर पारेर शेर्पा किदुगले न्युयोर्कमा धार्मिक पुजापाठका साथ ग्याल्पो ल्होसार मनायो । यस बर्ष ङिङमा सम्प्रदायका दुई जना बौद्ध धर्मगुरुहरुको निधनको कारण नेपाल लगायत विदेशमा रहेका किदुगहरुले धार्मिक पुजापाठ गरेर मात्र ल्होसार मनाएका छन ।
अमेरिकास्थित शेर्पा किदुगले पनि ल्होसारको तेस्रो दिन आफनै गुम्बामा विहानीदेखिनै पुजापाठ र दिपप्रज्वलन गरि दिनभरि सम्पुर्ण प्राणीजगतको हितमा पुजापाठ र प्रर्थना गरेका थिए । त्यस्तै गुम्बा परिसरमा विश्व शान्तिको ध्वजा लगाएर लामा गुरुहरुबाट मन्त्रपाठ गरेका थिए ।
किदुगद्धारा आयोजित ल्होसार ल्हाप्सु कार्यक्रममा प्रमुख अतिथिको रुपमा क्वीन्सबोरो प्रिसेडेन्ट डोनोबन रिचर्ड र विशेष अतिथिको रुपमा धर्म गुरु आवतारी लामा टुल्कु उपस्थित थिए । कार्यक्रममा गुम्बामा उपस्थित बालबालिकाहरुलाई किदुगको तर्फबाट धर्म गुरु लामा टुल्कुले ल्होसारको उपाहार दिएका थिए । कार्यक्रममा क्वीन्सबोरो प्रिसेडेन्ट डोनोबन रिचर्डले शेर्पा किदुगले न्युयोर्कसिटिमा पुर्याएको योगदानको कदर गदै शेर्पा समुदायले मनाउदै आएको ल्होसार र आंगाल्दै आएको सस्कृतिले न्युयोर्क सिटिलाई थप आर्कषण बनाएको बताएका थिए ।
हरेक वर्ष ल्होसार ल्हाप्सुको दिन लामा नृत्य छयाम, शेर्पा लोक नृत्य सेबु्र र डिजेका साथ सबैले रमाइलो गदै आएपनि यस पटक धर्म गुरु दिन्जेन याङसी रिम्पोचेको असामायिक निधनको कारणले धार्मिक पाठपुजामा मात्र सिमित गरेर ल्हाप्सु कार्यक्रम गरेको किदुगको महासचिव आङछिरिङ शेर्पाले बताए । कार्यक्रममा किदुगका अध्यक्ष छिरिङ शेर्पा, धर्म गुरु लामा टुल्कु र शेर्पा कल्चर सेन्टरका संयोजक पेम्बा गेल्जेन शेर्पाले ल्होसारको शुभकामना दिएका थिए ।