काठमाडौं । आठ हजार मिटरभन्दा अग्ला विश्वकै १४ वटा हिमाल दोहोर्याएर चढ्ने किर्तीमान राखेका चर्चित आरोही सानु शेर्पाको नेपालमा भव्य स्वागत भएको छ । नेपाल पर्वतारोहण संघसहितका संघ संस्थाले शनिबार बिहान नेपाल आइपुग्दा भब्य स्वागत गरेको हो ।
हालसम्म विश्वभर ८ हजार मिटर भन्दा अग्ला १४ वटा हिमाल मात्र पहिचान गरिएको छ । सानुले ती सबै हिमाल मध्ये अन्तिम्मा बिहीबार बिहान पाकिस्तानको ८,०३५ मिटर अग्लो गसेर्ब्रुम–२ आरोहण गरेर किर्तीमान राखेका हुन् ।
संखुवासभाको मकालु गाउँपालिका–१ स्थायी घर भएका ४७ वर्षीय सानु शेर्पा केही वर्षयता विश्वकै १४ अग्ला हिमाललाई दोहोर्याएर चढ्ने अभियानमा जुटेका थिए । यही सिलसिलामा उनले यसैवर्षको बसन्त याममा मकालु र कञ्चनजंग हिमालको पनि दोहोर्याएर आरोहण गरेका थिए ।
यसैबीच सरकारले सर्वोच्च शिखर सगरमाथासहित आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको आरोहण गरेर कीर्तिमानी कायम गर्ने पर्वतारोहीलाई नगदसहित सम्मान गर्ने जनाएको छ ।
कीर्तिमानी आरोहीको सम्मानमा नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले कीर्तिमानी पर्वतारोहीको योगदानलाई कदर गर्दै राम्रो नगद पुरस्कारसहित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । उनले आरोहीको कीर्तिमानले नेपालको गौरव बढाएको भन्दै उनीहरूको योगदानको प्रोत्साहनस्वरुप सम्मान गरिने बताए ।
“आरोहीको कीर्तिमानले नेपालको शिर ठाडो बनाएको छ । यस्ता सफल व्यक्तिलाई सरकारले नगदसहित पुरस्कृत गर्नुपर्छ । म यहाँमाझ प्रतिबद्धता जनाउन चाहन्छु सरकारकोतर्फबाट राम्रै नगदसहित सम्मान गर्न मन्त्रालयको तर्फबाट तत्कालै प्रक्रिया अघि बढाउनेछु” उनले भने ।
पर्यटनमन्त्री श्रेष्ठले आरोहीलाई सरकारको तर्फबाट परिचयपत्र वितरण गर्ने तथा आरोहीको ‘आर्काइब’ बनाउन तत्कालै पहल गर्ने पनि बताए । उनले पर्वतारोहण क्षेत्रको सुधार तथा आरोहीको सुरक्षा र जीवनयापनका लागि कसरी समस्या गर्न सकिन्छ भनेर मन्त्रालयको तर्फबाट पर्वतारोहण सङ्घलगायत सरोकारवालासँग छलफल गरेर अवधारणा तयार गरिने विश्वास व्यक्त गरे ।
मन्त्री श्रेष्ठले कीर्तिमानी सानु शेर्पाले विश्वका आठ हजार मिटर अग्ला १४ वटै हिमालको दुई–दुईपटक आरोहण गरेर बनाएको कीर्तिमान विश्वकप फुटबल र ओलम्पिकमा पदक जितेकोजस्तो उपाधि रहेको बताए । “खेलकुदमा भएको भए प्रतिस्पर्धामा जितेपछि तुरुन्तै हर्सोल्सासका साथ खुसी र प्रचार–प्रसार हुने थियो । आरोही सानु शेर्पाले जुन खालको कीर्तिमान कायम गर्नुभएको छ यो फुटबलमा वर्ल्डकपमा उपाधि जितेभन्दा कम होइन, संसारमा हुने चाहे ओलम्पिक, विश्वकप होस् त्यसको तुलनामा यो कम होइन, साँच्चिकै गौरव गर्न लायक सफलता आरोहीको कीतिमानले गरेको छ”, उनले भने ।
कार्यक्रममा सांसद जिपछिरिङ लामाले देशको इज्जत र गौरव बढाउन कीर्तिमानी आरोहीको महत्वपूर्ण भूमिका रहेको भन्दै राज्यका तर्फबाट आरोहीको सामाजिक सुरक्षालाई ध्यान दिन जरुरी भएको उल्लेख गरेका थिए । नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले पर्वतारोहीको कीर्तिमानीले नेपाललाई विश्वभर पहिचान गर्न मद्दत पुगेको बताए ।
यसैबीच पर्यटनमन्त्री श्रेष्ठले कीर्तिमानी आरोही सानु शेर्पालाई आफ्नो एक महिनाको तलब बराबरको रकम दिने घोषणा पनि गरे । उनले आरोहीको प्रोत्साहनस्वरुप उक्त रकम दिने बताए । यस्तै कार्यक्रममा नेपाली कांग्रेसका सांसद जिपछिरिङ लामाले दुई आरोही सानु शेर्पा र निमा ग्याल्जेन शेर्पालाई जनही रु एक लाख रकम दिने घोषणा गरे ।
निमा ग्याल्जेन शेर्पाले आठ हजारभन्दा अग्ला १४ वटै हिमालको पहिलोपटक आरोहण गरेर कीर्तिमान बनाएका हुन् । सो अवसरमा सङ्घको तर्फबाट दुई कीर्तिमानी आरोहीलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो ।