२२ श्रावण २०८३, शुक्रबार | Fri Aug 7 2026

भारतीय सेनाध्यक्षद्वारा सैनिक सामग्री हस्तान्तरण



प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिवसीय भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले नेपाली सेनालाई सहुलियतपूर्ण रुपमा चार घोडासहित रु २२ करोड ३८ लाखको सैनिक तथा मेडिकल सामग्री हस्तान्तरण गरेका छन् ।

विगतमा भएको नेपाल भारत द्विपक्षीय परामर्श समूहको निर्णयानुसार नेपाली सेनाको मुख्यालय जङ्गी अड्डामा सोमबार आयोजित विशेष समारोहबीच उनले उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

समारोहमा उनले प्रधानसेनापति प्रभुराम शर्मालाई ती सामग्री उल्लेख भएको फाइल हस्तान्तरण गरेका थिए । निश्चित प्रतिशत नेपाली सेनाको समेत लगानी रहेका हातहतियारका पाटपूर्जा, १० वटा विस्फोटक पदार्थ नष्ट गर्ने कार्यमा प्रयोग हुने सवारीसाधन (माइन प्रोटेक्टेड भेइकल) तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् ।

सहयोगस्वरुप प्राप्त घोडा उन्नत प्रजननका साथै विभिन्न सैनिक प्रयोजनमा उपयोग हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी नारायण सिलवालले जानकारी दिए । यसअघि सैनिक मुख्यालय जङ्गी अड्डामा प्रधानसेनापति प्रभुराम शर्मासँग उनले भेटवार्तासमेत गरेका थिए । पाँच दिने भ्रमणका लागि आइतबार नेपाल आएका सेनाध्यक्ष पाण्डेको सम्मानमा आज बिहान सेनाको एक टुकडीद्वारा सम्मान गारत अर्पण गरिएको थियो ।

उनले आजै जङ्गी अडडा मूल भवन परिसरमा वृक्षरोपणसमेत गरे । त्यसअघि बिहान सैनिक मञ्च टुँडिखेलस्थित वीर स्मारकमा पुष्पहार समर्पण गरी भारतीय सेनाध्यक्ष पाण्डेले श्रद्धाञ्जली अर्पण गरेका थिए ।

यस्तो छ पाण्डेको भ्रमण तालिका

पाँच दिने भ्रमणका क्रममा पाण्डेले मङ्गलबार बिहान माउन्टेन फ्लाइट गर्नुका साथै शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको भ्रमण गर्ने कार्यक्रम छ ।

यस्तै अपरान्ह ३ बजे प्रधानमन्त्री देउवासँग उहनले शिष्टाचार भेट गर्दै छन् । उनले शनिबार साँझ हिन्दूहरुका आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम छ । भारतीय सेनाध्यक्ष पाण्डेले बुधबार मुक्तिनाथको दर्शन गर्ने तथा पोखरास्थित मध्य कमाण्ड हेटक्वाटरको निरीक्षण भ्रमण गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उनले सोही दिन वसन्तपुरस्थित दरबार स्क्वायरको समेत भ्रमण गर्ने छन् । बिहीबार भने नेपालस्थित भारतीय राजदूतावासको भ्रमण गरी उनी स्वदेश फर्कने छन् ।

प्रकाशित मिति : २० भाद्र २०७९, सोमबार  ५ : ३३ बजे