अमेरिकामा नेपाली विद्यार्थीको संख्या ५.६ प्रतिशतले बढेको छ । सन् २०२१-२२ मा अमेरिकामा ११ हजार ७ सय ७९ नेपाली विद्यार्थी अध्ययनरत रहेको अमेरिकाको अन्तर्राष्ट्रिय शैक्षिक संस्थान ओपन डोर्सको रिपोर्टले जनाएको छ ।
रिपोर्ट अनुसार यो अघिल्लो वर्षका तुलनामा ५.६ प्रतिशतको वृद्धि हो । कोभिड-१९ महामारीको प्रभाव मत्थर भएसँगै अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको संख्यामा बृद्धि भएको देखाएको छ । यो वृद्धि प्रतिशतसँगै अमेरिकामा धेरै विद्यार्थी पठाउने मुलुकमध्ये नेपाल १२औं स्थानमा परेको छ ।
अमेरिकामा संसारभरिका २ सय देशका ९ लाख ४८ हजार विद्यार्थी अध्ययनरत मध्ये १.२४ प्रतिशत विद्यार्थी नेपाली छन् । अमेरिकाका विश्वविद्यालय र शैक्षिक संस्थामा भर्ना भएकामध्ये ९० प्रतिशतले भौतिक उपस्थितिमै कक्षा लिइरहेको प्रतिवेदनले जनाएको छ ।
सबैभन्दा धेरै अमेरिकामा चीनका २ लाख ९० हजार विद्यार्थी अध्ययनरत छन् । त्यसपछि भारतका १ लाख ९९ हजार, दक्षिण कोरियाका ४१ हजार, क्यानडाका २७ हजार तथा भियतनामका २१ हजार विद्यार्थी अध्ययनरत छन् । अन्तर्राष्ट्रिय विद्यार्थीबाट अमेरिकाले ३२ अर्ब अमेरिकी डलर बराबरको लाभ पाएको प्रतिवेदनमा उल्लेख छ ।