१३ श्रावण २०८३, बुधबार | Wed Jul 29 2026

सर्वदलीय बैठकपछि ९ दलको सातबुँदे संयुक्त अपिल, राष्ट्रिय एकता र सामाजिक सद्भाव जोगाउन आग्रह



सुनसरीलगायत विभिन्न जिल्लामा पछिल्ला दिनमा विकसित संवेदनशील घटनाक्रम र त्यसबाट उत्पन्न परिस्थितिप्रति चिन्ता व्यक्त गर्दै सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित नौ राजनीतिक दलले सातबुँदे संयुक्त वक्तव्य जारी गरेका छन् ।

बुधबार बिहान सिंहदरबारमा रास्वपाका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकपछि जारी वक्तव्यमा राष्ट्रिय एकता, सामाजिक सद्भाव र शान्ति कायम राख्न सबै राजनीतिक दल एकताबद्ध रहेको प्रतिबद्धता व्यक्त गरिएको छ ।

वक्तव्यमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनमत पार्टी र जसपा नेपालका शीर्ष नेताहरूको हस्ताक्षर रहेको छ ।

संयुक्त वक्तव्यमा हालैका घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ भने घाइते नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ ।

दलहरूले नेपालको पहिचान विविधताबीचको एकता, सहिष्णुता र सहअस्तित्व भएको उल्लेख गर्दै सामाजिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधि वा उत्तेजनामा नलाग्न सम्पूर्ण नागरिकलाई अपिल गरेका छन् । लोकतान्त्रिक व्यवस्थामा जटिल समस्या र असन्तुष्टिको समाधान शान्तिपूर्ण संवाद र सहमतिबाट मात्रै सम्भव हुने उल्लेख गर्दै आफ्ना मागहरू शान्तिपूर्ण ढंगले प्रस्तुत गर्न सम्बन्धित सबै पक्षलाई आग्रह गरिएको छ ।

वक्तव्यमा प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई स्थानीय तहसम्म विस्तार गर्न र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न दलका विभिन्न तहका समितिलाई निर्देशन दिइएको छ । धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनबीच समन्वय बढाएर शान्ति कायम राख्नुपर्ने आवश्यकता पनि औंल्याइएको छ ।

यस्तै, यस्ता संवेदनशील घटना भविष्यमा दोहोरिन नदिन राजनीतिक दलहरूको केन्द्रीय तहले आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

सामाजिक सञ्जालमार्फत फैलिन सक्ने अफवाह, भ्रामक सूचना र घृणास्पद अभिव्यक्तिले परिस्थिति थप जटिल बनाउन सक्ने भन्दै आम नागरिकलाई सामाजिक सञ्जाल जिम्मेवारीपूर्वक प्रयोग गर्न तथा सञ्चारमाध्यमलाई तथ्यपरक र संयमित सूचना सम्प्रेषण गर्न आग्रह गरिएको छ ।

संयुक्त वक्तव्यको अन्तिम बुँदामा नेपाल सरकारको ध्यानाकर्षण गराउँदै नागरिकको जिउधनको सुरक्षा राज्यको पहिलो दायित्व भएको उल्लेख गरिएको छ । दलहरूले सरकारले अधिकतम संयमता अपनाई परिस्थिति सामान्य बनाउन, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडितलाई उचित राहत र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

संयुक्त वक्तव्यमा अन्त्यमा राष्ट्रिय एकता र सामाजिक सद्भावको संरक्षणका लागि सहभागी सबै राजनीतिक दलहरू एकताबद्ध रहेको सन्देश दिँदै उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार तथा समाजलाई आवश्यक सहयोग गर्न प्रतिबद्ध रहेको जनाइएको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ३ : ३६ बजे