चर्चित बैंकर अनिलकेशरी शाह राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । उनलाई राष्ट्रिय स्वतन्त्र पार्टीले प्रशिक्षण विभागको प्रमुख बनाएको छ ।
शाहले रास्वपासँग आफ्नो चाहना मिलेपछि पार्टी प्रवेश गरेको बताएका छन् । बिहीबार पार्टी स्थापना दिवसका अवसरमा विहीबार नयाँ पार्टी कार्यालय बालाजुमा आयोजित पत्रकार सम्मेलनमा शाहले ३१ वर्षे बैंकिङ क्षेत्रमा आवद्ध भएपछि आफू नेतृत्व विकासको उद्धेश्य लिएर हिँडेको र रास्वपाको पनि त्यही उद्धेश्य रहेकाले पार्टी प्रवेश गरेको बताए ।
‘नेतृत्वको विकास कसरी गर्ने हरेक क्षेत्रमा भनेर अगाडि बढ्दा राष्ट्रिय स्वतन्त्र पार्टीसँग धेरै बहस भयो,’ उनले भने, ‘मैले उहाँहरूको सोच र मेरो सोच एकदम मिलेको पाएँ।’
उनले आउने दिनहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीको अंग बन्न चाहन्छु, चुनाव लड्न चाहन्छु या पार्टीमा कसरी हुन्छ सहभागी भएर अगाडि बढ्न चाहन्छु भन्नेहरूलाई चाहिँ नेतृत्व केहो? नेतृत्व कसरी विकास गर्ने? नेतृत्वको विकासबाट देशमा सकारात्मक प्रभाव कसरी पार्ने हो? भन्ने बारेमा सिकाइने बताए ।
‘हाम्रो पार्टीमा कुनै पनि क्षेत्रमा त्यो क्षेत्रको एकदम अध्ययन गर्ने विशेषज्ञ जो हुनुहुन्छ, उहाँलाई चाहिँ कसरी हुन्छ सुम्पिदिऊँ न त जिम्मेवारी भन्ने हुन्छ,’ उनले भने।
उनले देशको सबैभन्दा ठूलो पीडा अर्थतन्त्रको रहेको र त्यसको डाक्टर नै रास्वपामा भएको पनि बताए । अझै धेरै मानिसहरू पार्टीमा जोडिनुपर्ने उनको भनाइ थियो ।
‘मैले कहिल्यै सोचेको थिइनँ । नेतृत्वको विकास गर्न नेपालीलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर हिँडेको थिएँ? यहाँ चाहिँ जुन मेरो सिप छ त्यसलाई प्रयोग गर्न सक्छु भन्ने लागेको भएर म यहाँ आएको हुँ,’ उनले भने, ‘केही राम्रो गरेँ भने वाहवाह भनिदिनुहोला। नराम्रो गरेँ भने सचेत गरिदिनुहोला ।’









