२ असार २०८१, शनिबार | Sat Jun 15 2024

विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्ने प्रधानमन्त्रीको अश्वासन



प्रधानमन्त्री पुष्पकमल दाहालले विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने अश्वासन दिएका छन् । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा सहभागि हुन अमेरिका पुगेका प्रधानमन्त्री प्रचण्डले न्युयोर्कमा पत्रकारसँगको भेटमा विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गरिने बताएका हु्न् ।

‘विदेशमा रहेका नेपाली नागरिकहरुलाई मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगलाई निर्देशन दिएका छौँ,’ दाहालले भने, ‘अब विदेशमा बस्ने कसैलाई पनि मतदानको अधिकारबाट बञ्चित गरिने छैन ।’

अर्को प्रसंगमा उनले सामाजिक सञ्जालको दुरुपयोग बढेकोप्रति सरकार गम्भीर भएको बताए। प्रधानमन्त्री दाहालले त्यसको नियमनका लागि सरकारले विशेष पहल गरिरहेका पनि जानकारी दिए ।

उनले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि जस्तो सुकै कदम चाल्न पनि सरकार तयार रहेको बताए । सरकारले गरेका राम्रा र सकारात्मक कुराहरुलाई भन्दा पनि नकारात्मक कुरा गरेर कसरी बदनाम गर्न सकिन्छ भनेर केही गिरोह सक्रिय रहेको आरोपसमेत उनले लगाए। एक अर्को प्रसंगमा प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीको उपल्लो तहमै केहि समस्या देखिएको स्वीकार गरे। उनले अब त्यसलाई सच्याएर जानुको विकल्प नरहेको बताए ।

आगामी बिहीबार महासभालाई सम्वोधन गर्नुअघि प्रधानमन्त्री दाहालले अल्पविकसित राष्ट्रको अध्यक्षको हैसियतले विभिन्न साईडलाईन बैठकमा सहभागिता जनाउने कार्यक्रम रहेको छ । उनले नेपाल अल्पविकसित राष्ट्रको अध्यक्ष भएका कारण पनि अहिले महासभामा सहभागि हुनु परेको बताए ।

प्रकाशित मिति : १ आश्विन २०८०, सोमबार  ९ : ४० बजे