संघीय संसद्मा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकका केही प्रावधानमा असन्तुष्टि जनाउँदै देशभरका शिक्षकहरूले बिहीबार पनि आन्दोलन जारी राखेका छन् । उनीहरूले काठमाडौंको माइतीघर मण्डलदेखि बानेश्वरसम्म पैदल हिँडेर प्रदर्शन गरे ।
प्रदर्शनले उक्त क्षेत्रको ट्राफिक अवस्था अस्तव्यस्त बनेको छ भने देशभरीका सामुदायिक स्कूलहरु बन्द रहेका छन् ।
नेपाल शिक्षक महासंघले आह्वान गरेको यस प्रदर्शनमा देशभरबाट शिक्षकहरु राजधानीमा जम्मा भएका छन् ।
महासंघले मन्त्रीको तहबाट आफ्ना माग सम्बोधन हुन नसक्ने जनाउँदै आन्दोलन सुरु गरेको हो । गत वर्षको तथ्यांकअनुसार हाल मुलुकभर २७ हजार तीन सय ४३ सामुदायिक विद्यालय छन् भने स्थायी, अस्थायी र राहत गरी एक लाख ५७ हजार तीन सय ५४ शिक्षक कार्यरत छन् । यस्तै सामुदायिक विद्यालयमा ५३ लाख ८२ हजार विद्यार्थी छन् ।
मुलुकका विभिन्न जिल्लाबाट आएका शिक्षक र विद्यालय कर्मचारीको धर्नामा संलग्नता छन् । महासंघले अस्थायी प्रकृतिका शिक्षकहरुको स्थायित्व, विद्यालय कर्मचारीको दरबन्दी सिर्जना, विद्यालय संरचनाबाहिर रहेका बाल कक्षामा शिक्षक, अस्थायी अवधि गणना तथा निवृत्तिभरण, शिक्षक बढुवा, प्रधानाध्यापक नियुक्ति, सरुवा र कार्यसम्पादन मूल्यांकन लगायतका विषयमा सम्बोधन माग गर्दै आएको छ ।