२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

साढे ६ किलो सुनसहित इजिप्टका नागरिक पक्राउ



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार फेरी साढे ६ किलो सुनसहित पक्राउ इजिप्टका नागरिक पक्राउ परेका छन् । बिहीबार मात्र गोरखाका चन्द्र घले १४ किलो सुनसहित समातिएका थिए ।

आइतबार पक्राउ परेको इजिप्टको नागरिकसँग वयान लिन भाषाको जटिलता देखिएको बताइएको छ । अर्ध ठोस बनाएर ल्याइएको सुनसहित पक्राउ परेका इजिप्टका नागरिक सरिफ मोहमद लासिम अंग्रेजी नबोल्दा बयान लिन समस्या भएको हो । उनले अरबिक बोले जस्तो बुझिएपछि अहिले अनुवादकको खोजी भइरहेको छ ।

प्रहरीले उनीसँगै रहेका दुई जना सुडानी नागरिकलाई पनि पक्राउ गरेको छ । क्लोज सर्किट (सीसी) क्यामरा फुटेजमा सरिफसँगै हिँडेको देखिएपछि सम्बन्ध रहेको हुनसक्ने आशंकामा उनीहरुलाई पक्राउ गरिएको हो ।

सुनसहित समातिएका इजिप्टका नागरिक फ्लाई दुबईको एफजेड ५७३ विमानमार्फत ११:५१ मा काठमाडौं अवतरण गरेका थिए । यही विमानमार्फत गोरखाका चन्द्र घले १४ किलो सुनसहित बिहीबार ११:४० बजे अवतरण गरेका थिए । विमानस्थल भन्सार कार्यालयले विशेष सूचनाका आधारमा घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो ।

शनिबार राति सोही विमानमा आएका व्यक्तिलाई शंका लागेपछि निगरानी गर्ने क्रममा पक्राउ गरिएको हो । उनले सुनलाई अर्ध ठोस बनाएर ल्याएको अबस्थामा अघिल्लो घटनामा जस्तै ज्याकेटभित्र राखेर ल्याएको प्रहरीले जनाएको छ ।

प्रारम्भिक जाँचका क्रममा बरामद सुन भारततर्फ नै लैजाने गरी ल्याएको हुनसक्ने देखिएको प्रहरीको भनाई छ । यसअघि शुक्रबार प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले रसुवा नाकाबाट आएको दुई किलो अवैध सुन बरामद गरेको थियो । कार्यालयले तीन दिनअघि न्यूरोडको सुन पसलमा छापा मारेर झण्डै ८ किलो अवैध सुन समेत बरामद गरेको थियो ।

केही समयअघि विमानस्थलको सबै सुरक्षा जाँच पास भएर बाहिरिएको ६० किलो सुन राजश्व अनुसन्धान विभागले बरामद गरेको थियो । त्यसअघि भेपमा लुकाएर ९ किलो सुन ल्याएको समेत खुलेको थियो । यो मामिलामा पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल अहिले पनि थुनामा छन् ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ६ : ०० बजे