तमू समुदायले आईतबार ल्होछार मनाएको छ । काठमाडौं उपत्यकामा बसोबास गर्ने तमूहरुले टुंडीखेलामा जम्मा ऊएर ल्होछार मनाए ।
टुंडीखेलमा आयोजित तमू ल्छारको मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले गुरुङ समुदायको महत्वपूर्ण तमु ल्होसार विश्वकै पुरानो सांस्कृतिक पर्व भएको बताए । साथै उनले ल्होछार पर्वलाई पृथ्वीको वार्षिक गतिसँग सम्बन्धित वैज्ञानिक पर्वको संज्ञा दिए । उनले नेपालको राष्ट्रिय संस्कृतिको एउटा कडी ल्होसार परम्परा र संस्कृति भएको बताए ।
प्रधानमन्त्री दाहालले नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको बताए । उनले नेपालको संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतालाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात् गरेको बताए ।
‘नेपालमा गुरुङ समुदायले २०४६ सालमा बहुदलीय व्यवस्था स्थापनापछि ल्होसारलाई कहीँ न कहीँ अधिकार प्राप्तिको आन्दोलनसँग जोडेर मनाउन थालेको पाइन्छ । प्रधानमन्त्री, मन्त्री, विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई निम्ता गरेर सामूहिक ल्होसार मनाउनुको पछाडि पनि यही उद्देश्य सन्निहित छ,’ प्रधानमन्त्री दाहालले भने ।
यसैगरी सहरी विकासमन्त्री सीता गुरूङले सरकार नागरिकको अवस्था परिवर्तनका लागि अहोरात्र खटिरहेको बताएकी छन् । तमु ल्होसार महोत्सव–२०८० लाई सम्बोधन गर्दै मन्त्री गुरुङले सरकार नागरिकको अवस्था परिवर्तनको निम्ति अहोरात्र खटिरहेको बताएकी हुन् ।
उनले नागरिकको बढ्दो असन्तुष्टि र नकारात्मक टिप्पणीहरुप्रति सरकार जानकार र सजग रहेको समेत दाबी गरिन् । ‘केही भएको छैन, र केही हुँदैन भन्ने भाष्य गलत छ,’ मन्त्री गुरुङले भनिन्, ‘विगतका दिनहरुमा भन्दा अहिले केही न केही राम्रो हुँदै गइरहेको छ, हामीले हेर्ने नजरलाई पनि नकारात्मक मात्रै बनाउनु हुँदैन ।’
उनले चारैतिरबाट प्रश्न उठिरहेका बेला संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशी सहभागितासम्बन्धी संविधानका व्यवस्थालाई जोगाएर थप मजबुद बनाउँदै लैजानुपर्ने चुनौती रहेको दाबी समेत गरिन् ।
‘नेपाल बहुजाति, बहुभाषी, बहुसाँस्कृतिक र बहुधार्मिक मुलुक हो । यसखालको विविधता नै नेपालको छुट्टै पहिचान हो । नेपालको सम्पत्ति हो,’ उनले भनिन्, ‘नेपालका हरेक जातजातिको आफ्नै पहिचान र परम्परा छन् । सांस्कृतिक मूल्य र मान्यता छन् । हाम्रो पुर्खाले यसलाई सदिऔँदेखि जोगाएर हाम्रो काँधमा आइपुगेको छ । हामीले पनि यसलाई मर्यादित ढंगले संरक्षण गर्नुपर्नेछ ।’
मन्त्री गुरुङले संविधानका नेपालको विविधतालाई सम्बोधन गर्दै अधिकारको ग्यारेण्टी गरेको र विगतभन्दा राज्यकोतर्फबाट नागरिकको आवाज केही न केही रुपमा सुनिएको बताए । उनले संविधानलाई कार्यान्वयन गराउँदै आमनागरिकको जीवन र नागरिकको अवस्थालाई परिवर्तन गर्न सरकारले प्रयास गरिरहेको बताइन् ।









