राष्ट्रिय सभा अध्यक्षमा नारायणप्रसाद दाहाल निर्वाचित भएका छन् । मंगलबार भएको निर्वाचनमा गठबन्धन दलका साझा उम्मेदवार दाहाल कांग्रेसका युवराज शर्मालाई पराजित गर्दै विजयी भएका हुन् । ५९ सदस्यीय राष्ट्रिय सभामा दाहालले ३९ मत प्राप्त गरे । त्यस्तै शर्माले १७ मत प्राप्त गरे । उनी प्रधानमन्त्री पुष्पकमल दाहालका भाइ हुन् ।
अध्यक्ष पदमा विजयी दाहालले माओवादीको १७, एमालेको १०, एकीकृत समाजवादीको ८ र जसपाको ३ मत पाए । त्यस्तै राष्ट्रपतिबाट मनोनीत वामदेव गौतमले पनि दाहाललाई मत दिएका छन् ।
त्यस्तै राष्ट्रिय सभामा कांग्रेसका १६ र लोकतान्त्रिक समाजवादी पार्टीका १ सांसद रहेका छन् । कांग्रेसले आफ्नोबाहेक लोसपाको १ मत पाएको छ । बुधबारको निर्वाचनमा ५६ जना सांसद उपस्थित थिए । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले भने तटस्थ रहे । राष्ट्रिय सभामा राष्ट्रपतिबाट मनोनीत हुने एक सिट रिक्त रहेको छ ।
चारवर्षे कार्यकाल रहेका दाहाल मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट २०७८ चैतमा राष्ट्रिय सभा सदस्य मनोनीत भएका थिए । चितवन स्थायी ठेगाना भएका दाहाल २०३१ सालदेखि पार्टीमा सक्रिय छन् । उनी २०५७ देखि माओवादी केन्द्रीय सदस्य छन् ।
माओवादी शान्ति प्रक्रियामा आएपछि २०६३ मा दाहाल अन्तरिम व्यवस्थापिका संसद् सदस्य बनेका थिए । ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा दाहाल चितवन–३ बाट संविधान सभा सदस्यमा निर्वाचित भएका थिए । यसअघि दाहाल प्रधानमन्त्री हुँदा उनी सल्लाहकार थिए ।