३ चैत्र २०८१, सोमबार | Mon Mar 17 2025

कंग्रेशनल चुनावमा होमिएका ह्यारी भण्डारीद्वारा सहयोगको अपील



अमेरिकाको मेरिल्याण्ड राज्यको डिष्टिक २ बाट कंग्रेशनल चुनावमा होमिएका नेपाली मूलका पहिलो डेलिगेट डा. हयारी भण्डारीले सहयोगको लागि अपील गरेका छन् ।

गत साता सम्पन्न सहयोग समुहको बैठकका क्रममा उनले नेपाली समुदायका अगुवाहरुलाई सहयोगको लागि अपील गरेका हुन् ।

अघिल्लो साता मात्र गठन गरिएको भण्डारी सहयोग समूहका पदाधिकारीहरु, कंग्रेशनल क्याम्पेनका टीम तथा नेपाली मूलका सञ्चारकर्मीहरु समेतको सहभागितामा भएको उक्त बैंठकले आगामी चालिस दिन सम्म अहोरात्र खटेर भण्डारीको चुनावी अभियानमा सहयोग गर्ने निर्णय गरेको छ ।

भर्चुअल माध्यमबाट भएको बैठकलाई सम्बोधन गर्दे भण्डारीले नेपाली समुदायका अगुवाहरुलाई आर्थिक सहयोगको लागि अपिल गरेका थिए । उनले भने, “अहिले हामीहरु यो चुनावी अभियानकोलागि आर्थिक रुपले अलि कमजोर देखिएका छौं, यसलाई सवल बनाउन हजुरहरुको सानो भन्दा सानो रकम पनि महत्वपूर्ण हुन्छ ।”

“हामीहरुलाई सर्वेक्षणमा प्रतिस्पर्धी देखाएको छ, यहाँका मूलधारका मिडियाहरुले पनि प्राथमिकताका साथ कभरेज गरेका छन्, तर हामीहरुको सोच अनुसारको आर्थिक संकलन गर्न पछाडि परेका छौं” उनले थप भने ।

बैठकमा भण्डारी सहयोग समूहका संयोजक कानून व्यवसायी वासु फुलाराले पनि विगत एक दशक भन्दा वढी समय देखि राजनीतिमा होमिएका भण्डारीको चुनावी अभियानमा सबैं मिलेर सहयोग गर्न अपिल गरे । उनको भनाई थियो, “हामी नेपाली अमेरिकीको यत्रो उपस्थिति रहेको छ, हरेक विषयमा भण्डारीले सहयोग गर्दे आउनुभएको छ, अव हामीहरुले उहाँलाई सहयोग गर्ने बेला आएको छ ।”

बैठकमा विभिन्न राज्यवाट प्रतिनिधlत्व गर्ने सामाजिक अभियन्ताहरुले सहयोग गर्ने प्रतिवद्धता जाहेर गरेका थिए । बैठकमा भण्डारीको क्याम्पेन टीमका तर्फवाट म्याट क्यास्लर र शाम रिभर्सले चुनावी अभियान, फेडरल ईलेक्शन कमिशनको मापदण्डहरु, आर्थिक संकलनलगायतका विषयमा जानकारी गराएका थिए ।

सहयोग समुहले भण्डारीलाई किन सहयोग गर्ने भनेर एउटा प्रस्ताव पनि बनाएको छ । जस अनुसार विगत एक दशक भन्दा लामो समय देखि डा. भण्डारी निरन्तर रुपमा कठोर प्रतिज्ञाका साथ राजनीतिक तथा सामाजिक अभियानमा सरिक रहेका छन् ।

उनी एक सफल राजनीतिककर्मी र नागरिकको सेवामा समर्पित मानवीय सवेदना भएका नेताको रुपमा समेत स्थापित भैसकेको समुहले जनाएको छ । साथै आशा नभएकाको लागि आशा दिएर, समस्यामा परेकाहरुको लागि समाधानको मार्ग खोजेर होस अथवा मृत्युवरण गरेकाहरुको अन्तिम संस्कार सम्पन्न गर्न र पीडित परिवारका सदस्यहरुलाई सान्त्वना प्रदान गर्न अहोरात्र खट्ने भण्डारीको कंग्रेशनल चुनावको लागि सहयोग गर्नु आवश्यक रहेको पनि जनाएको छ ।

साथै https://harryformaryland.com/ गएर सहयोग गर्न सकिने उल्लेख गरेको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८०, शुक्रबार  ५ : ०३ बजे