प्रधानमन्त्री पुष्पकमल दाहालले इजरायलमा हमासको आक्रमणका बेला हमासको कब्जामा परी बेपत्ता भएका नेपाली विद्यार्थी विपिन जोशीको सकुशल रिहाइका लागि पहल गरिदिन कतारी अमिरसँग आग्रह गरेका छन् ।
नेपालको राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख तमिम बिल हमाद अल थानीसँग बुधबार भएको ‘द्विपक्षीय वार्ता’ का क्रममा प्रधानमन्त्री दाहालले जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।
‘आफ्नो शैक्षिक इन्टर्नसिपका लागि इजरायलमा रहेका निर्दोष नेपाली विद्यार्थी विपिन जोशी अक्टोबर ७ मा इजरायलमा हमासले गरेको आक्रमणपश्चात् बेपत्ता छन् र उनको अवस्था हालसम्म पनि थाहा हुन सकेको छैन,’ प्रधानमन्त्री दाहालले कतारी अमिरसँगको भेटमा भने, ‘म उनको शीघ्र तथा सुरक्षित रिहाइको सहजीकरणका लागि कतार सरकारसमक्ष पुनः अनुरोध गर्न चाहन्छु ।’
प्रधानमन्त्री दाहालले थप भने, ‘यस विषयमा महामहिमको व्यक्तिगत ध्यानाकर्षणका लागि अनुरोध गर्दछु ।’ यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पनि कतारी अमिरसँग जोशीको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।
यसअघि राष्ट्रपति रामचन्द्र पौडेलले पनि कतारी अमिरसँग बिपिनको रिहाइका लागि पहल गरिदिन अनुरोध गरेका थिए ।
यसैगरी प्रधानमन्त्री दाहालले कतारी अमिरसँग नेपाल लगानीकर्ताका लागि विश्वकै सर्वाधिक आकर्षक ठाउँमध्येको एक भएको उल्लेख गर्दै कृषि, खानी, ऊर्जा र जलविद्युत्, पूर्वाधार विकास, पर्यटन, सूचना तथा सञ्चार प्रविधि र सेवा तथा सत्कार क्षेत्रहरू वैदेशिक लगानीका लागि उपयुक्त रहेको जानकारी गराए ।
त्यस्तै उनले कतार सरकारलाई लुम्बिनी तथा पोखराबाट समेत उडान सञ्चालन गर्न आग्रह गरे । द्विपक्षीय वार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले काठमाडौँ र दोहाबीच प्रभावकारी एवं पर्याप्त हवाई यातायात भएको उल्लेख गर्दै त्यस्तो अनुरोध गरेका हुन् ।
उने कतारमा कार्यरत झन्डै ४ लाख नेपाली द्विपक्षीय सम्बन्धलाई जोड्ने महत्त्वपूर्ण सूत्र भएको पनि बताए । उनले कतारमा दक्ष तथा अर्धदक्ष श्रमिक पठाउन नेपालमा व्यावसायिक तालिम र सिप विकास केन्द्र स्थापना गर्न लागिएकाले त्यसमा सहयोग गर्न आग्रह गरे ।
त्यस्तै आर्थिक विकास नेपालको प्राथमिकता भएको उल्लेख गर्दै सन् २०२६ मा अतिकम विकसित मुलुकको स्तरबाट स्तरोन्नतिलगायतका विकासका आकांक्षा पूरा गर्न मित्रराष्ट्र तथा विकास साझेदारबाट निरन्तर सहयोगको अपेक्षा गरेको प्रधानमन्त्रीले बताए ।