२६ मंसिर २०८१, बुधबार | Wed Dec 11 2024

न्युयोर्कमा सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रताबारे अन्तर्क्रिया


Ang

२४ बैशाख २०८१, सोमबार  

8
Shares


विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले ‘न्युयोर्कमा सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता’ विषयमा कार्यक्रमको आयोजना गरेको छ । मे ४ तारिख शनिबारको दिन आयोजना भएको कार्यक्रममा वातावरणीय संकटको सामनामा पत्रकारिता विषयक सेरोफेरोमा कार्यक्रम केन्द्रित गरिएको थियो । उक्त कार्यक्रमको उद्घाटन बिरुवामा पानी राखेर गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले समुदाय र प्रेसको सुमधुर सम्बन्धले मात्र स्वतन्त्रतालाई पूर्ण रुपमा अगाडि बढाउन सक्ने बताए । उनले मिडियामा ठूलो चुतौती आएको बताउँदै हिजो जोसँग सूचना हुन्थ्यो त्यो शक्तिशाली हुने गरेको थियो भने आज सूचनाको स्पष्टता नहुँदा समाजमा ‘कन्फुजन’को वातावरण बढेको बताए ।

‘विश्वमा बढ्दै गएको समाजिक सन्जालको प्रयोगले पनि समुदायमा सूचनासम्बन्धी विभिन्न ‘कन्फुजन’ उत्पन्न गर्ने गरेको छ,’ थापाले भने । उनले गलत समाचारले समाजमा गलत धारणा उत्पन्न गर्ने हुँदा समाज गलत बाटोतिर लैजानसक्ने उल्लेख गरे । समाजमा व्याप्त गलत सूचनामार्फत चुनौती सिर्जना गरिरहेको हुँदा यसलाई चिर्नका लागि नेजालाई युएनको मिसनसँग मिलेर अगाडि बढ्नसमेत आग्रह उनले गरे ।

नेपालको विकास, राजनीति, जलवायु परिवर्तन, स्वास्थ्य क्षेत्र, शान्ति स्थापनालगायतका क्षेत्रमा मिडियाको ठूलो भूमिका रहेको उल्हुलेख गर्दै उनले यूएनसँग मिलेर अगाडि बढ्न आग्रह गरेका हुन् । साथै, अहिले यूएनले नेपालमा जलवायु परिवर्तनबाट पर्न सक्ने असरका बारेमा विभिन्न कार्यक्रम गर्दै आएको बताउँदै यस्ता खाले कार्यक्रममा नेपालको मुद्दालाई अभिव्यक्त गर्नका लागि समेत आग्रह गरे । प्रमुख अतिथि थापाले प्रवासमा रहेका पत्रकारहरूलाई समग्रमा नेपाल र डायस्पोरालाई जोड्ने कार्यमा सक्रिय रुपमा अगाडि बढ्नसमेत आग्रह गरेका थिए ।

कार्यक्रममा अमेरिकाको ओहायो राज्यमा पत्रकारिता विषयमा विद्यावारिधि गरिरहेका पत्रकार प्रकाश आचार्यले ‘सामुदायिक पत्रकारिता र प्रेस स्वतन्त्रता’ को बारेमा मन्तव्य दिएका थिए । आचार्यले सञ्चार माध्यम र सामाजिक सञ्जालबीच ठूलो भिन्नता रहेको बताउदै समाचार प्रकाशन गर्ने तरिका फरक-फरक हुने हुँदा समाजमा असर पर्ने खालका विषयवस्तुलाई समाचार बनाउनु उपयुक्त नहुने बताए । त्यस्तै, समुदायले पत्रकार र पत्रकारले समुदायलाई सम्मान गर्न सक्दा मात्रै दुवै पक्षलाई फाइदा पुग्ने उनको भनाई थियो ।

नेजाका अध्यक्ष सुरज भण्डारीले कार्यक्रमको उद्देश्य, नेजाका योजना एवं समुदाय र पत्रकारितालाई जोड्न नेजाको भूमिकाका सन्दर्भलाई जोडेर धारणा राखेका थिए । अध्यक्ष भण्डारीले उत्तर अमेरिकामा रहेका नेपाली मूलका पत्रकारहरूको संस्था नेजा भएकाले समुदायको आवश्यकतालाई मध्यनजर गर्दै नेजाले आफनो योजना तथा कार्यक्रम अगाडि बढाएको बताएका थिए ।

यसैगरी, नेजाका महासचिव बाबुराम दाहालले नेजाले समुदायमा भएका कार्यक्रम एवं गतिविधिका बारेमा प्राप्त समाचार एवं समुदायलाई आवश्यक पर्ने सूचना अमेरिकाबाट प्रकाशन हुने सबै सञ्चारमाध्यमलाई उपलब्ध गराउने गरेको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य तथा फोनिजका पूर्वअध्यक्ष मोहनसिंह लामा, नेजाका पूर्वमहासचिव किरण मरहठा, नेपाल सरकारका पर्यटन प्रवर्द्धक गोकुल श्रेष्ठ, प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय समितिका अध्यक्ष सञ्जय थापा, नेपाली जनसम्पर्क समिति, अमेरिकाका अध्यक्ष आनन्द विष्ट, एनआरएनए अमेरिका उत्तर-पूर्व क्षेत्रीय संयोजक आङछिरिङ शेर्पा, नेजाका सदस्य कल्पना घिमिरे, नेजाका उत्तर-पूर्व क्षेत्रीय संयोजक सुपेद्र बस्नेत, नेजाका उपाध्यक्ष सुजन पण्डित, नेजाका सल्लाहकार मच्छेदेवी गुरुङ, नेजाका पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारी, पत्रकारहरू लोकमणि राई, प्रेमिला गौचन, सुनिता कोइराला, सन्तोष शर्मा, किरण पाण्डे, बद्री गौतमलगायतले मन्तब्य राखेका थिए ।

डिसिमा राजदूत प्रा. खत्रीसँग अन्तरक्रिया

वासिङटन डीसी ।

विश्व प्रेस स्वतन्त्रता दिवस मे ३ मा अमेरिकाका लागि नेपाली राजदूत प्रा. श्रीधर खत्रीसँग नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले अन्तरक्रिया गरेको छ । सो अन्तरक्रियामा राजदूत प्रा‍. खत्रीले दूतावासले आफनो स्रोत र साधनले भ्याएसम्म सेवा प्रवाहमा विशेष ध्यान दिइरहेको बताए ।

अमेरिकामा रहेका नेपाली समुदायले दूतावासप्रति शिविर सञ्चालन नगरेको भन्ने गुनासोको बारेमा पत्रकारहरूको तर्फबाट सोधिएको प्रश्नमा राजदूत प्रा. खत्रीले दूतावासमा पर्याप्त जनशक्तिको अभावले गर्दा समुदायको मागबमोजिम शिविर सञ्चालन गर्न नसकिएको स्वीकार गरेका थिए । राजदुत खत्रीले व्यक्तिगत रुपमा कसैको केही समस्या भएमा दूतावासमा इमेलमार्फत सम्पर्क गर्न आग्रह गरेका थिए । राजदुत खत्रीले नेजा र नेजामा आबद्ध पत्रकारहरूले नेपाल र नेपाली डायस्पोरालाई जोड्नका निम्नि खेलेको भूमिका प्रशंसनीय रहेको बताउँदै प्रवासमा रहेका व्यक्तिहरूले नेपालमा गरिरहेको सहयोगका सन्दर्भमा पनि रिपोर्टिङ गर्न आग्रह समेत गरेका थिए ।


अन्तरक्रियामा नेजाका संस्थापक अध्यक्ष गिरीश पोख्रेल, अध्यक्ष सुरज भण्डारी, उपाध्यक्ष सुजन पण्डित, महासचिव बाबुराम दाहाल, पश्चिम क्षेत्रीय संयोजक रोशन अधिकारी, डीसी मेट्रो संयोजक हरिमाया काफ्ले, नेजाको अनुशासन समिति संयोजक, आजीवन सदस्य एवं सतीश चापागाईं, नेजा सदस्य सागर घिमिरेलगायत सहभागी थिए । उक्त अन्तर्क्रियामा दूतावासको तर्फबाट इकोनोमिक काउन्सिलर युवराज पाण्डे र द्वित्तीय सचिव उत्तम घिमिरेको सहभागिता थिए ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ७ : ५८ बजे