२९ आश्विन २०८३, बिहिबार | Fri Oct 16 2026

शिक्षाविद् तथा बौद्ध अध्ययनका साधक आङ दावा शेर्पाको निधन



शिक्षाविद्, बौद्ध अध्ययनका अध्येता तथा विभिन्न सामाजिक संघसंस्थाका अगुवा आङ दावा शेर्पाको निधन भएको छ। उनको हिजो अमेरिकामा निधन भएको हो।  

केही दिन अघि मात्रै उनको जीवनका भोगााइ र अनुभव समेटिएको आत्मकथा प्रकाशित भएको थियो। यसरी आफ्ना कृति पाठकसामु ल्याएको छोटो समयमै उनको निधन हुनुले शैक्षिक तथा बौद्धिक जगतलाई स्तब्ध बनाएको छ।

सोलुखुम्बु जिल्लाको दुधकुण्ड नगरपालिका वडा नं. ५, सेर्गामा वि.सं. २०१० सालमा जन्मेका शेर्पाले शिक्षा शास्त्रमा एम.एड.सम्मको अध्ययन गरेका थिए। उनी जनजागृति माध्यमिक विद्यालयको प्रधानाध्यापक पदबाट सेवा निवृत्त थिए।  

सामाजिक तथा बौद्धिक क्षेत्रमा सक्रिय शेर्पाले लुम्बिनी विकास कोषको दुई पटक सदस्य सचिवका रूपमा जिम्मेवारी सम्हालेका थिए । उनी प्रथम विश्व बौद्ध शिखर सम्मेलन (१९९८) को स्टेरिङ्ग कमिटी सदस्य सचिव तथा दोस्रो विश्व बौद्ध शिखर सम्मेलन (२००४) को मूल आयोजक समितिको सदस्य सचिव पनि थिए । साथै, उनले अशोक स्तम्भ शत वार्षिक समारोहको सदस्य सचिवको भूमिका पनि निर्वाह गरेका थिए ।

शिक्षक हकहितका लागि नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सोलुखुम्बु जिल्ला तथा नेपाल शिक्षक सङ्घ सोलुखुम्बु जिल्ला दुवैका संस्थापक अध्यक्ष रहेका उनले नेपाल शिक्षक सङ्घको केन्द्रीय समितिको उपाध्यक्ष समेत भएका थिए ।  

उनी बौद्धनाथ क्षेत्र विकास समितिको सल्लाहकार, नेपाल शेर्पा सङ्घ अमेरिकाको सल्लाहकार, शेर्पा किदुग अमेरिकाको सल्लाहकार, शेर्पा सेवाकेन्द्र काठमाडौँको संरक्षक सदस्य तथा जनसेवा समिति सोलुखुम्बुको संस्थापक सदस्य सचिवका रूपमा सामाजिक सेवामा निरन्तर क्रियाशील रहेका थिए ।

उनको निधनप्रति विभिन्न सामाजिक, शैक्षिक तथा बौद्ध सङ्घ-संस्थाहरूले गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन्।

प्रकाशित मिति : २९ आश्विन २०८३, बिहिबार  ९ : ३५ बजे