१ कार्तिक २०८३, शनिबार | Sun Oct 18 2026

लामो समयदेखि फरार जिबी राईद्वारा नेपाल फर्कने घोषणा: रवि लामिछाने र छविलाल जोशीलाई नजोड्न आग्रह



सहकारी ठगी प्रकरणमा संलग्नताको अभियोग लागेपछि लामो समयदेखि फरार रहँदै आएका जिबी (गितेन्द्रबाबु) राईले आफू नेपाल फर्कन तयार रहेको बताएका छन्। सेतोपाटीले शनिबार सार्वजनिक गरेको प्रेस नोट तथा अडियोमा राईले आफूलाई खोज्न राज्यले शक्ति-संयन्त्र प्रयोग गरिरहनु नपर्ने र तोकिएको कानुनी प्रक्रिया स्वीकार गर्न आफू तयार रहेको उल्लेख गरेका हुन्।

राईका नातामा जेठान पर्ने ज्ञानबहादुर बमजनले उक्त अडिओमा रहेको आवाज जिबीकै भएको पुष्टि गरेका छन्। यद्यपि फरेन्सिक ल्याबबाट भने उक्त अडिओको औपचारिक परीक्षण हुन बाँकी छ।

आफ्नो प्रेस नोटमा राईले आफू पक्राउ पर्नु नै समस्याको पूर्ण समाधान नहुने तर्क गर्दै जीवनभर लुकेर वा भागेर हिँड्न नचाहेको र आर्थिक अपराधमा जेल बसिरहने इच्छा नभएको स्पष्ट पारेका छन्। राज्यको ज्यादतीका कारण आफ्नो कारोबार र व्यवहार बिग्रिएको दाबी गर्दै उनले बचतकर्ताको रकम फिर्ता गराउन सरकारसँग सहकार्य गर्न चाहेको बताएका छन्। त्यसका लागि आफन्त तथा शुभेच्छुकहरूबाट केही जग्गा-जमिनको व्यवस्थापन गरेको र अन्य विकल्पमार्फत बचतकर्ताको रकम सुरक्षित गरी दायित्व पूरा गर्ने प्रयास गर्ने उनको भनाइ छ।

साथै, राईले गोर्खा मिडिया नेटवर्कको विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र छविलाल जोशीलाई नजोड्न आग्रह गरेका छन्। सहकारीसँग जोडिएका पूर्वसञ्चालक, वर्तमान सञ्चालक तथा कर्मचारीहरू आफ्ना कारणले पीडित हुनुपरेको भन्दै उनले क्षमा समेत मागेका छन्। वर्तमान सरकारले बचतकर्ताको रकम सुरक्षित गर्न चालेका कदमहरू सकारात्मक र स्वागतयोग्य रहेको उनको ठहर छ।

राईले एक्कासि प्रेस नोट र अडिओ सार्वजनिक गर्नुको स्पष्ट कारण नखुले पनि उच्च सरकारी स्रोतका अनुसार सरकारले खोजी कार्य तीव्र बनाएकाले उनीमाथि दबाब बढेको र असुरक्षित महसुस गरेर यो बाटो रोजेको हुनसक्छ। राईलाई चाँडै पक्राउ पर्न सक्ने वा अन्य कुनै जोखिमको त्रास रहेकाले समस्या समाधानका लागि सार्वजनिक भएको आकलन गरिएको छ।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमै जेल परेर २०८२ भदौमा १० लाख रुपैयाँ धरौटीमा छुटेका राईका जेठान ज्ञानबहादुर बमजनले जिबी हाल कुन देशमा छन् भन्ने स्पष्ट नभएको बताएका छन्। एक वर्षअघि अमेरिकामा रहँदा जिबीले आफूलाई खतरा रहेको बताएको र आफूले नेपाल फर्केर वैकल्पिक बाटोबाट समस्या हल गर्न सुझाव दिएको बमजनको भनाइ छ।

पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको सहारा, वीरगन्जको सानो पाइला, नेपालगन्जको समानता र काठमाडौंको हाम्रो नयाँ कृषि सहकारी गरी सात प्रमुख सहकारीबाट करिब ४९ हजार बचतकर्ताको ७ अर्ब ६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको अभियोग राई र उनको समूहमाथि छ। बचतकर्ताको रकम बिनाप्रक्रिया निजी कम्पनीहरूमा लैजाने क्रममा ग्यालेक्सी फोर-के टेलिभिजन सञ्चालन गर्ने गोर्खा मिडिया नेटवर्कमा समेत उक्त रकम पुगेको थियो, जहाँ राई अध्यक्ष र रवि लामिछाने प्रबन्ध निर्देशक रहेका थिए।

यस प्रकरणमा प्रहरी छानबिनपछि दर्ता भएका मुद्दाहरूमा कास्की, काठमाडौं, रूपन्देही, चितवन र पर्सा जिल्ला अदालतहरूले रवि लामिछानेलाई धरौटीमा छाड्ने आदेश दिँदै ‘अहिले नै कसुरदार होइनन् भन्न नसकिने’ उल्लेख गरिसकेका छन्। यी अदालतका प्रारम्भिक आदेशहरू भएकाले अन्तिम फैसला आउन बाँकी भए पनि अदालतले राईले दाबी गरेजस्तै लामिछानेलाई निर्दोष मानेको अवस्था छैन।

प्रकाशित मिति : १ कार्तिक २०८३, शनिबार  ११ : ३१ बजे