१ भाद्र २०८३, सोमबार | Mon Aug 17 2026

बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले देश छाडिन्, अन्तरिम सरकार गठन गर्ने सेना प्रमुखको घोषणा



विद्यार्थी आन्दोलन चर्कँदै गएपछि बंगलादेशकी प्रधानमन्त्री सेख हसिनाले राजीनामा दिएर देश छोडेकी छन् । यसैबीच प्रदर्शनकारीले प्रधानमन्त्रीको सरकारी निवासमा प्रवेश गरेर लुटपाट गरेका छन् ।

प्रधानमन्त्रीले राजीनामा दिएपछि रिक्तता र अशान्तिपूर्ण अवस्था नियन्त्रणमा लिन बंगलादेशको सेना अघि सरेको छ । सेना प्रमुख जनरल वाकर उज जमानले देशबासीका नाममा सम्बोधन गर्दै अन्तरिम सरकार गठन गरिने घोषणा गरेका छन् ।

देशबासीका नाममा सम्बोधन गर्दै उनले बंगलादेशमा अन्तरिम सरकार बनाउनका लागि राजनीतिक दलहरुसँग कुराकानी भएको बताएका छन् ।

प्रधानमन्त्री हसिनाले राजीनामा दिएको पुष्टि गर्दै सेना प्रमुखले अब राष्ट्रपतिसँग भेटका लागि समय मिलाएको बताएका छन् । उनले विद्यार्थीलाई शान्त रहन आग्रह गर्दै विद्यार्थी हत्याको अनुसन्धान गर्ने समेत प्रतिवद्धता जनाएका छन् ।

साथै बंगलादेशमा कुनै संकटकाल घोषणा नगर्ने र शान्ति स्थापना गर्ने बताउँदै सेना प्रमुखले आफूहरुलाई केही समय दिन विद्यार्थीहरुलाई आग्रह गरेका छन् ।

विद्यार्थी आन्दोलन चर्किदै गएपछि प्रधानमन्त्री हसिनाले बाध्य भएर राजीनामा दिएका हुन् । राजीनामा दिइ लगतै उनले राजधानी ढाका छोडेकी छन् । सञ्चार माध्यमहरुले उनी भारततर्फ गएको बताएका छन् ।

विद्यार्थी प्रदर्शन अनियन्त्रित र हिंसात्मक बन्दै गएपछि प्रधानमन्त्री हसिना प्रधानमन्त्री पद त्याग्न बाध्य भएकी हुन् । बंगलादेशमा जारी आरक्षणविरोधी आन्दोलनका क्रममा आइतबार प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा मृत्यु हुनेको संख्या ९० पुगेको थियो ।

हसिना सन् २००९ देखि निरन्तर बंगलादेशको सत्तामा छिन्।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार  ४ : ४३ बजे