२२ कार्तिक २०८१, बिहिबार | Fri Nov 8 2024

गोर्खा मिडियामा रविका साझेदार छविलाई पाँच दिन हिरासतमा, संगठित अपराधमा पनि अनुसन्धान



सहकारी ठगीको आरोपमा आइतबार पक्राउ परेका गोर्खा मिडियामा रवि लामिछानेका साझेदार पूर्व डिआइजी छविलाल जोशीलाई पाँच दिन पुर्पक्षमा राख्न अदातलते आदेश दिएको छ । उनलाई सहकारीको बचत अपचलनका साथै संगठित अपराधका दफा लगाएर अनुसन्धान गर्न अदालतबाट जिल्ला प्रहरी कार्यालय कास्कीले अनुमति पाएको बताइएको छ ।

पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलन आरोपमा आइतबार साँझ जोशीलाई काठमाडौंको शंखमूलबाट पक्राउ गरी सोही साँझ जहाजबाट कास्की पुर्याइएको थियो ।

प्रहरीले जोशीविरुद्ध सहकारीको रकम संगठित रूपमा ठगी गरेको भन्दै सहकारी ऐन, २०७४ र संगठित अपराध निवारण ऐन, २०६४ ले वर्जित गरेको कसुरमा अनुसन्धान गरिरहेको छ ।

सरकार र आरोपितका तर्फबाट बहसपछि न्यायाधीश चन्द्रकान्त शर्माको इजलासले संगठित अपराध र ठगीसम्बन्धी कसुरमा अनुसन्धान गर्न अनुमति दिएको हो । गोर्खा मिडियामा सहकारी ठगीको आरोमा हाल फरार रहेका गितेन्द्रबाबु (जीबी) राई अध्यक्ष, जोशी उपाध्यक्ष र हाल रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने प्रबन्ध निर्देशक थिए । रविले गोर्खा मिडिया छाडेपछि भने गोर्खा मिडियाको सञ्चालकमा कुमार रम्तेल नियुक्त भएका थिए । उनी हाल सहकारी ठगीको काण्डमा थुनामा छन् ।

सहकारी समस्या बारे छानविन गर्न बनेको संसदीय विशेष समितिले गोर्खा मिडियामापोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, चितवनको सहारा, वीरगन्जको सानो पाइला र काठमाडौंको स्वर्णलक्ष्मी सहकारीबाट ६५ करोड भन्दा धेरै रकम ल्याएर हिनामिना गरेको भन्दै जीवी, छवि र रविलाई करावाहीको लागि सिफारिस गरेको थियो । संसदीय समितिले यस प्रकरणमा ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर आकर्षित हुने उल्लेख गरेको छ ।

प्रकाशित मिति : ७ आश्विन २०८१, सोमबार  ५ : ५३ बजे