राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा.महावीर पुनले सन् २०२४ मा एक लाख ५० हजार किताब बेचेको बताएका छन् ।
वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालन गर्न सरकार दिएको तर खर्च नदिए पछि पुन आफैले लेखेको आफ्नो आत्मकथा ‘महावीर पुन’ नामक किताब बेच्न निसक्नेका हुन् । उक्त पुस्तकको बिक्रीबाट हुने आम्दानीले केन्द्र चलाउने उनले बताउँदै आएको छ ।
देशका विभिन्न जिल्लामा पुगेर डेढ लाख किताब बेच्दा नौ करोड रुपैयाँभन्दा धेरै आम्दानी भएको पुनले नै सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् ।
‘लौ है दाजुभाइ, दिदीबहिनीहरु, सन् २०२४ को अन्त्यसम्म बेचेको किताबको संख्या एक लाख ५० हजार नाघ्यो,’ बिहीबार बिहान सामाजिक सञ्जालमा पुनले लेखे, ‘सन् २०२५ मा कम्तिमा पनि त्यति नै किताब बेच्न सहयोग गर्नुहोस् । २८३ दिनमा १५ हजार एकसय ६८ किलोमिटर यात्रा गरेर ३८ जिल्लामा किताब बेचियो । वीरगन्ज कृषि औजार कारखाना गुटुङटुङ चलेको छ । हेर्न जानुहोला ।’
पुनले कृषि औजार कारखाना सञ्चालन गर्न तीन लाख पुस्तक बिक्री गर्ने लक्ष राखेका छन् । ३०८ पेज रहेको ‘महावीर पुन’ पुस्तकको मूल्य ७५० रुपैयाँ राखिएको छ ।









