५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

रूपन्देहीमा एक करोड धरौटी बुझाएर छुटे रवि लामिछाने



सहकारी ठगी, संगठित अपराध र सम्पती सुद्धिकरण अभियोग लागेका  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व  गृहमन्त्री रवि लामिछाने रूपन्देही जिल्ला अदालतबाट एक करोड रुपैयाँ धरौटी बुझाएर छुटेका छन् । आइतबार भएको प्रतिवादी वकिलको बहस, जाहेरवाला र सरकारी वकिलको जवाफी बहसपछि जिल्ला अदालत रूपन्देहीका न्यायाधीश प्रल्हादकुमार योगीले एक करोड रुपैयाँ धरौटी माग गर्ने आदेश गरेका थिए ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा संगठित अपराध कसुरमा प्रतिवादी बनाएर माघ ६ मा रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । बुधबार लामिछानेको बयान, बिहीबार, शुक्रबार र आइतबार उच्च र जिल्ला सरकारी वकिल कार्यालयका वकिल, जाहेरवालाका वकिल र प्रतिवादी वकिलको बयान सकिएपछि एक करोड धरौटीमा छोड्ने आदेश भएको हो । 

वयान र वहसका क्रममा पनि रूपन्देही जिल्ला अदालतले थुनामा नराखेर परिवारको रोहवरमा छाड्ने गरेको थियो । रविसँग मागेको एक करोड धरौटी हालसम्मकै धेरै हो । यसअघि पोखरामा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी मागिएको थियो । 

जिल्ला सरकारी वकिल कार्यालय रूपन\देहीले माघ ६ मा रूपन्देही जिल्ला अदालतमा सुप्रिम सहकारी ठगी र संगठित अपराधमा लामिछानेसहित २२ जनालाई अभियुक्त बनाएर मुद्दा दर्ता भएको थियो । मुद्दामा गीतेन्द्रबाबु (जीबी) राई, लामिछानेसहित २८ जनाबाट ५५ करोड ५९ लाख ८३ हजार ८ सय ४२ रुपैयाँ र लामिछाने, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र लामिछानेको व्यक्तिगततर्फ २ करोड बिगो दाबी गरिएको थियो ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ११ : ११ बजे