नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएको बारेमा प्रधानमन्त्रीले जवाफ दिनु पर्ने भन्दै विपक्षीहरुले अवरोध गरपछि प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित भएको छ द।
बुधबार दिउँसो ३ बजे बसेको दोस्रोपटकको बैठकमा पनि विपक्षी दलहरूले अवरोध जारी राखेपछि प्रतिनिधि सभा बैठक स्थगित भएको हो ।
कुलमानलाई हटाउने निर्णयको विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै संसदमा जबाफ दिनुपर्ने माग राख्दै विपक्षी दलका सबै सांसदहरू कुर्सीबाट उठेर विरोध जनाएका थिए ।
बिहान ११ बजे बैठक सुरू हुनासाथ विपक्षी दलका सांसदहरू उठेर विरोध जनाएका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्ति बस्नेतलाई बोल्न समय दिएका थिए ।
उनले सरकारले विचौलियालाई फाइदा पुर्याउनका लागि कुलमानलाई प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाइएको आरोप लगाए । त्यस विषयमा प्रधानमन्त्री आफै संसदमा उपस्थित भएर जबाफ नदिएसम्म सदनको काम कारबाही अगाडि नबढ्ने उनले बताए ।
त्यसपछि सभामुख घिमिरेले आधा घन्टा बैठक स्थगित गरेर छलफल गरेका थिए । दिउँसो ३ बजे बसेको दोस्रो बैठकमा पनि विपक्षी दलहरूले अवरोध गरेपछि सभामुख घिमिरेले भोलि बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
यसैबिषयलाई लिएर सरकार र प्रतिपक्षीहरु आमने सामने भएका छन् । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी ओलीले सदमा उपस्थित भएर जवाफ नदिएसम्म सदनमा अवरोध जारी रहने बताएका छन् भने प्रधानमन्त्री ओलीले यस विषय जवाफ दिन नपर्ने अडान लिएका छन् ।









