२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

सर्वोच्चद्वारा रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन खारेज, अहिलेलाई जेलमै रहने



सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन खारेज गरेको छ । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटवल इजलासको निर्णय कानुनसम्मत रहेको ठहर गर्दै सर्वोच्चले उक्त निर्णय उल्ट्याउन नमिल्ने आदेश दिएको छ ।

न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा, वैशाख ७ गते लामिछानेका तर्फबाट उनकी पत्नी निकिता पौडेलले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै, थुनामुक्त गर्नुपर्ने आधार नदेखिएको उल्लेख गरिएको छ ।

रुपन्देहीको सुप्रिम सहकारीसँग सम्बन्धित ठगी मुद्दामा उच्च अदालतको आदेशपछि लामिछाने हाल रुपन्देही कारागारमा रहेका छन् । यसअघि माघ १३ गते रूपन्देही जिल्ला अदालतले उनलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध सरकारी वकिलको कार्यालयले पुनरावेदन गर्दै उच्च अदालतमा रिट दर्ता गरेको थियो । सोही रिटमाथि सुनुवाइ गर्दै बुटवल इजलासले लामिछानेलाई सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो ।

सर्वोच्चको यस आदेशुँगै लामिछानेलाई जेलमुक्तिको बाटो तत्कालका लागि बन्द भएको छ ।

प्रकाशित मिति : १० जेष्ठ २०८२, शुक्रबार  १० : २१ बजे