एयर इण्डियाको लण्डन ग्याटविकतर्फ गइरहेको बोइङ ७८७ ड्रिमलाइनर विमान (उडान संख्या एआइ१७१) अहमदाबादमा टेकअफको केही मिनेटमै दुर्घटना हुँदा विमानमा सवार सबै २४२ जनाको ज्यान गएको छ । यस विमानमा २३० यात्रु र १२ चालक दलका सदस्यहरू सवार थिए ।
विमान अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट भारतीय समय अनुसार दिउँसो १.३८ बजे उडेको केही क्षणमै नियन्त्रण गुमाई नजिकैको मेघानीनगरस्थित बीआइ मेडिकल कलेजको छात्रावास भवनमा ठोक्किएको थियो । ठोक्किएलगत्तै विमानमा ठूलो विस्फोट भएको र त्यसपछि आगलागी भएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।
दुर्घटनाको कारण हालसम्म स्पष्ट हुन सकेको छैन । तर प्रारम्भिक रिपोर्ट अनुसार टेकअफ पश्चात इन्जिन पावरमा समस्या आएको आशंका गरिएको छ । विमानले ‘मेडे’ सन्देश पनि दिएको बताइएको छ ।
विमानमा सवार यात्रुमध्ये अधिकांश भारतीय नागरिक थिए भने बेलायत, पोर्तुगल र क्यानाडाका नागरिक पनि थिए । भुइँमा रहेका कम्तीमा पाँच जना मेडिकल छात्रावासका बासिन्दाको पनि ज्यान गएको बताइएको छ ।
प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गर्दै ट्वीटमार्फत मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् भने मृतकका परिवारजनलाई राहत र सहायता प्रदान गर्न केन्द्र र राज्य सरकारलाई निर्देशन दिएका छन् । उड्डयन मन्त्री राम मोहन नायडु, गृह मन्त्री अमित शाह र गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेल घटनास्थलमा पुगेर उद्धार कार्यको निरीक्षण गरेका छन् ।
दमकल र उद्धार टोलीले तुरुन्तै कार्य थालेर केही शवहरू निकाल्न सफल भएका छन् । बोइङ र एयर इण्डियाले संयुक्त रूपमा घटनाको छानबिनका लागि विशेष टोली गठन गरेका छन् । भारतको नागरिक उड्डयन सुरक्षा निकाय डीजीसीए र विमान दुर्घटना जाँच बोर्डले पनि अनुसन्धान सुरु गरिसकेको छ । उड्डयन इतिहासमा यो बोइङ ७८७ ड्रिमलाइनर विमानको सबैभन्दा भयावह दुर्घटना मानिएको छ ।









