प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गरी नियन्त्रणमा लिएर बेपत्ता बनाएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनीले इजरायली राष्ट्रपति आइज्याक हर्जोगसँग भेटवार्ता गरेका छन् ।
नेपालका इजरायलस्थित राजदूत धनप्रसाद पण्डितले आइतबार राष्ट्रपति हर्जोगसँग भेटवार्ता गराएका हुन् । भेटका क्रममा विपिनकी आमा पद्माले छोराको शीघ्र रिहाइका लागि पहल गरिदिन आग्रह गरिन् । बहिनी पुष्पाले पनि आफ्नो दाई विद्यार्थीका रुपमा आएको र निर्दोष रहेको भन्दै हमासको बन्धकबाट मुक्त गराउन अपिल गरिन् ।
त्यस अवसरमा राजदूत पण्डितले विभिन्न तवरबाट पहल गरेर जोशीको स्थितिबारे जानकारी गराउन अनुरोध गरेका थिए । जवाफमा इजरायली राष्ट्रपति हर्जोगले विपिनको रिहाइका लागि प्रयास भइरहेको जानकारी गराए ।
इजरायलमा रहेका नेपालीहरूले शनिबार साँझ तेलअभिभमा विपिन जोशीको रिहाइका लागि प्रदर्शन गरेका थिए । विपिनकी आमा पद्मा र बहिनी पुष्पा पनि रिहाइका लागि दबाब दिन उक्त प्रदर्शनमा सहभागी भएका थिए । नेपालीहरू झण्डासहित त्यहाँ पुगेका थिए र विपिनकी परिवारले प्लेकार्डसहित प्रदर्शन गरे ।
प्रदर्शनमा उपस्थित इजरायली अधिकारकारकर्मी र मानवअधिकारकर्मीसमेत थिए । विपिनकी बहिनी पुष्पाले रुँदै सम्बोधन गर्दै भनिन्, “दादा, आई मिस यू सो मच। म तेरो न्यानो अँगालो, आवाज सबैलाई धेरै मिस गर्छु ।” उनले आफ्नो दाजु पढ्नका लागि मात्र इजरायल आएका थिए र कसैसँग दुश्मनी नरहेको बताइन्। दाजुको अवस्थाका कारण परिवार मानसिक त्रसित बनेको उनले औंल्याइन् ।
विपिन जोशीको रिहाइका लागि पहल गर्ने नेपालीहरूमध्येकी सुनिता गुरुङले विपिनको अवस्था अहिलेसम्म अज्ञात रहेको बताउँदै रिहाइको लागि दबाब दिन नेपालीहरूले आवाज उठाइरहेको उल्लेख गरिन् । उनले धेरै नेपाली टाढाबाट तेलअभिभमा आएर विपिनको रिहाइका लागि माग राखेको सामाजिक सञ्जालमा पोस्ट गरिन् ।
नेपाल सरकारले विपिनको रिहाइका लागि कूटनीतिक पहल तीव्र पार्दै संयुक्त राष्ट्रसंघसम्म मुद्दा लैजाने तयारी गरिरहेको बेला विपिनकी आमा र बहिनी सोमबार इजरायलतर्फ प्रस्थान गरेका थिए। उनीहरूलाई तेलअभिभस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा इजरायली विदेश मन्त्रालयका अधिकारी, नेपाली राजदूत धनप्रसाद पण्डित, पूर्वराजदूत हानन गोदार र अन्यले स्वागत गरेका थिए।
त्यसै अवसरमा विपिनकी आमाले भनेकी थिइन्, “म मेरो छोरो विपिनलाई लिन आएकी हुँ। सबैमा विनम्र अनुरोध छ, मेरो छोरालाई मुक्त गराएर हामीसँगै घर पठाइदिनुस्।”
कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भासी स्थालीय घर भएका विपिन जोशी कृषि सम्बन्धी ‘पढ्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत इजरायल गएक थिए। ७ अक्टोबर २०२३ मा हमासले इजरायलको किबुजमा आक्रमण गरेयता विपिन सम्पर्कविहीन छन्। सो घटनामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने हमासका लडाकुले विपिनसहित २५१ जनालाई बन्धक बनाएका थिए।
युद्धविरामको क्रममा केहीलाई हमासले मुक्त गरे तापनि विपिन अझै बन्धक अवस्थामा छन्। नेपाल सरकारले विपिनको शीघ्र रिहाइका लागि कूटनीतिक पहल तीव्र पारिसकेको छ तर हालसम्म उनको अवस्था प्रष्ट छैन।









