भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रमा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति पुगेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।
आइतबार प्रधानमन्त्री सुशीला कार्की र निजी क्षेत्रबीच भएको छलफलमा अध्यक्ष ढकालले हालसम्म उपलब्ध तथ्यांक र सूचनाअनुसार निजी सम्पत्तिमा करिब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आकलन भएको बताए । उनले भने, “देशभरको क्षति विवरण संकलन भइरहेको छ । ठूलो उद्योग, साना व्यवसाय र राजधानी बाहिरका केही क्षेत्रको विवरण अझै आउन बाँकी छ, कतिपयमा दोहोरोपन पनि देखिएको छ ।”
महासंघले देशभर सर्वेक्षण गरेर चाँडै नै विस्तृत विवरण उपलब्ध गराउने जनाएको छ ।
छलफलमा अध्यक्ष ढकालले आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण हुनु दुःखद भएको उल्लेख गर्दै सरकारसँग सुरक्षा, समन्वय र सहकार्यका लागि आग्रह गरे । “हामी पनि सम्हालिँदै सरकारलाई सघाउन तयार छौँ । तर, दोषीमाथि कारबाही हुनुपर्छ, नभए दण्डहीनता बढेर निजी लगानी निरुत्साहित हुन्छ,” उनले चेतावनी दिए ।
महासंघका अनुसार निजी क्षेत्रले मुलुकको कुल अर्थतन्त्रमा ८१ प्रतिशत योगदान पुर्याइरहेको छ भने रोजगारीको ८६ प्रतिशत अवसर सिर्जना गरिरहेको छ ।
व्यवसायीलाई पुनःस्थापित गर्न कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण, आयकर तथा भन्सारमा छुट, मूल्य अभिवृद्धि करमा समायोजन, नयाँ संरचना बनाउन आवश्यक सामानमा सहुलियत दिने लगायतका माग महासंघले सरकार समक्ष राखेको छ ।
युवा पुस्ताको आन्दोलनका क्रममा भएको घुसपैठले ठूलो जनधनको क्षति भएको भन्दै महासंघले पारदर्शी छानबिन र दोषीमाथि कारबाही गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।









