१ कार्तिक २०८२, शुक्रबार | Sat Oct 18 2025

पूर्वसभामुख महराविरुद्ध ८ करोड ५५ लाख भन्दा बढी बिगो माग



विद्युतीय चुरोट (भेप) मा लुकाएर गरिएको सुन तस्करी प्रकरणमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध मुद्दा दर्ता भएको छ।

जिल्ला सरकारी वकिलको कार्यालयले सोमबार महरा विरुद्ध मुद्दा दर्ता गरेको हो । उनीमाथि ८ करोड ५५ लाख २८ हजार ३७४ रूपैयाँ बिगो दाबी गर्दै ३ वर्षभन्दा बढी अवधि कैद सजाय माग गरिएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले महरालाई आइतबार पक्राउ गरेको थियो । उनीमाथि विमानस्थल भन्सारबाट भेपमा लुकाएर ल्याइएको सुन छुटाउन दबाब दिएको आरोप छ ।

महराविरुद्ध दर्ता भएको मुद्दामाथि अब मंगलबारदेखि थुनछेक बहस हुनेछ । बहस सकिएपछि अदालतले उनलाई धरौटीमा रिहा गर्ने वा थुनामा राख्ने भन्नेबारे आदेश जारी गर्नेछ।

१० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट ०५८७ बाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले ल्याएका दुई वटा सुटकेश शंकास्पद देखिएपछि विमानस्थल भन्सार कार्यालयले नियन्त्रणमा लिएको थियो। चेकजाँच गर्दा सुटकेसमा भेप भेटिएको थियो।

पासपोर्ट फिर्ता लिएर लि हानसोङले पर्सिपल्टै काठमाडौं छाडे पनि भेप भने लामो समयसम्म भन्सारमै थन्किएको थियो। भेपमा तस्करीको सुन भएको सूचना पाएपछि विमानस्थलका कर्मचारीले भेप साटेको आशंकामा २६ वैशाख २०८० मा भन्सारले सीआईबीलाई अनुसन्धान गर्न पत्राचार गरेको थियो।

दुई महिना लामो अनुसन्धानपछि सीआईबीले ९ किलो सुन तस्करी भएको निष्कर्ष निकाल्दै भन्सारकै नासु रेवन्त खड्कासहित ६ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। यसअघि नै पूरक अभियोजनमा चिनियाँ मूलका बेल्जियमका नागरिक दावा छिरिङ, उनका गाडी चालक लोकेन्द्र पौडेल, राहुल महरा, नीमा गुरुङलाई मतियार बनाएर मुद्दा दायर गरिएको थियो।

महरा संलग्न रहेको भनिएको उक्त सुन तस्करीको फाइलमा अनुसन्धान अघि बढाउँदै उनीसँग केही दिनअघि बयान लिइएको थियो र सोही आधारमा उनी पक्राउ परेका थिए।

प्रकाशित मिति : २७ आश्विन २०८२, सोमबार  ९ : ५५ बजे