प्रहरीले हालै चलेको ‘जेनजी’ आन्दोलनका क्रममा सिंहदरबारभित्र एसएलआर राइफल बोकेर लुटपाट र आगजनीमा संलग्न एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा ललितपुर उपमहानगरपालिका-१३, कुसुन्तीका ३६ वर्षीय राजु परियार रहेका छन्, जो ‘सम्राट’ उपनामले पनि चिनिन्छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सुनाकोठीबाट बुधबार नियन्त्रणमा लिएको हो ।
प्रहरी स्रोतका अनुसार परियारले प्रदर्शनका बेला सुरक्षाकर्मीले प्रयोग गर्ने हतियार (एसएलआर) लुटेर सिंहदरबारको मूल गेटमा प्रदर्शन गरेका थिए । हतियार बोकेको उनको उक्त दृश्य सामाजिक सञ्जालमा व्यापक रूपमा भाइरल भएको थियो ।
परियारमाथि ज्यान मार्ने उद्योग, ठगी र अभद्र व्यवहारसहित विभिन्न आठवटा कसुरमा मुद्दा दर्ता भइसकेको प्रहरीले जनाएको छ । उनलाई ज्यान मार्ने उद्योगसम्बन्धी दुई वटा मुद्दा, ठगीसम्बन्धी तीन वटा, बैंकिङ कसुरसम्बन्धी एक वटा र अभद्र व्यवहारसम्बन्धी दुई वटा मुद्दा परेको प्रहरी अभिलेखमा देखिन्छ। यी मुद्दाहरू जिल्ला प्रहरी परिसर भद्रकाली, ललितपुर, प्रहरी वृत्त नयाँ बानेश्वर, महाराजगन्ज र स्वयम्भूलगायतका विभिन्न कार्यालयमा विभिन्न मितिहरूमा दर्ता भएका थिए ।
पक्राउ परेका परियारमाथि प्रहरीले थप अनुसन्धान अगाडि बढाएको छ।









