प्यालेस्टाइनी कट्टरपन्थी समूह हमासले गत अक्टोबर ७ को आक्रमणपछि बन्धक बनाएका नेपाली विद्यार्थी विपिन जोशीको मृत्यु भएको पुष्टि गरेको छ । हमासको सैन्य शाखाले विपिन जोशीसहित चार जना बन्धकहरूको शव सोमबार इजरायललाई बुझाउने तयारी गरेको बीबीसीले जनाएको छ ।
हमासले मृत्यु भएका बन्धकहरू इ इलौज, योस्सी शराबी, बिपिन जोशी र डानियल पेरेत्सको नाम सार्वजनिक गरेको छ । हमासले सोमबार मात्र २० जना जीवित बन्धकहरूलाई भने मुक्त गरेको थियो ।
जोशी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि गएका १६ जना नेपाली विद्यार्थीहरूको समूहमा थिए । उनीहरू गाजा क्षेत्र नजिकै पर्ने दक्षिणी इजरायलको किबुज अलुमिममा बस्दै आएका थिए ।
हमासले ७ अक्टोबर २०२३ मा किबुज क्षेत्रमा गरेको आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशीलाई हमासले बन्धक बनाएर लगेको थियो । बन्धक बनाइएको करिब एक महिनापछि (सन् २०२३ नोभेम्बर १७ मा) जोशी गाजा क्षेत्रको अल शिफा अस्पतालमा ३३ सेकेन्ड लामो भिडियोमा अन्तिमपल्ट देखिएका थिए ।
यसबीचमा नेपाली अधिकारीहरूले सोमबार विपिन अब जीवित नरहेको जानकारी दिएका थिए । मृत्यु भएका सबै बन्धकहरूको अवशेष २८ जनासम्मको हुनसक्ने भनिएको छ ।
विपिन जोशीलाई प्यालेस्टाइनी समूहको कब्जाबाट सकुशल रिहाइका लागि नेपाल सरकारका तर्फबाट उच्चस्तरीय कूटनीतिक पहल भएको थियो ।
तत्कालीन परराष्ट्रमन्त्री एनपी साउदले १२ अक्टोबर २०२३ मा इजरायलको तेल अभिभ पुगेर मृतकको शव र घाइतेको उद्धार तथा स्वदेश फर्किन चाहने नेपाली नागरिक ल्याउन पहल गरेका थिए ।
तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सन् २०२३ नोभेम्बर २५ मा नेपाल भ्रमणमा रहेका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुरैखीसँग भेटेर विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए ।
विपिनका बुबा महानन्द जोशी र आमा पद्मा जोशीले पनि छिटो उद्धारका लागि पटक पटक आग्रह गरेका थिए । उनीहरूले तत्कालीन परराष्ट्रमन्त्री साउदलाई गृहजिल्ला भ्रमणमा भेटेर पनि छोराको रिहाइका लागि पहल गर्न आग्रह गरेका थिए।
यसैगरी, राष्ट्रपति रामचन्द्र पौडेलले पनि ११ वैशाख २०८१ मा नेपालको राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँगको भेटमा विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए।
विपिनकी आमा र बहिनी पुष्पाले पनि इजरायली राष्ट्रपति हर्जोगसँग भेटेर आफ्नो छोरा/दाइ निर्दोष विद्यार्थी रहेको भन्दै सकुशल रिहाइका लागि अपिल गरेका थिए । यी सबै प्रयासका बाबजुद विपिनलाई सकुशल स्वदेश फर्काउने प्रयास भने सफल हुन सकेन ।