जिल्ला प्रशासन कार्यालय काठमाडौंले ‘टीओबी’ समूहका सदस्य तेन्जिङ दावा लामामाथि अनुसन्धानका लागि ६ दिनको म्याद थप गरेको छ । २९ वर्षीय तेन्जिङले पेस्तोलजस्तो देखिने हतियार प्रदर्शन गरी आम जनमानसमा डरत्रास सिर्जना गरेको भन्दै उनमाथि अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धान गर्न म्याद थप गरिएको हो ।
तेन्जिङ दावा लामालाई २३ र २४ भदौमा भएको जेन-जी आन्दोलनमा पेस्तोल बोकेर घुसेको भन्दै सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोका आधारमा प्रहरीले खोजी गरेको थियो । उनी आफैं प्रहरीसमक्ष पुगेका थिए ।
अनुसन्धान गरिरहेको प्रहरीका अनुसार बिजुलीबजार पुलमा टीओबी लेखिएको ज्याकेट लगाएका तेन्जिङले कम्मरको पछाडि पेस्तोल बोकेको उक्त भिडियो करिब एक वर्ष पुरानो रहेको पुष्टि भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका एक अनुसन्धान अधिकारीले टिकटकमा पोस्ट भएको मिति र भिडियो खिचिएको मिति दाँज्दा यो जेन-जी आन्दोलनको समयको नरहेको बताएका छन् ।
प्रहरीले अनुसन्धानका क्रममा तेन्जिङबाट एक थान नक्कली पेस्तोल बरामद गरेको छ । तेन्जिङले भिडियोमा देखिएको हतियार पनि यही नक्कली पेस्तोल रहेको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमा ध्यानाकर्षण गराउन भिडियो बनाएको बताएका छन् ।
‘टीओबी’ लेखिएको ज्याकेट लगाएका र बुलेट बाइक पड्काउँदै जेन-जी आन्दोलनमा पुगेका यस समूहबारे प्रहरीले ‘फ्रि तिब्बत’ को एजेन्ट हुन् कि भन्नेबारे पनि अनुसन्धान अघि बढाएको छ । प्रहरीका अनुसार, अहिलेसम्मको अनुसन्धानले उनी फ्रि तिब्बतका एजेन्ट नरहेको तर समर्थक हुनसक्ने देखिएको छ । तेन्जिङका पुर्खाहरू तिब्बतबाटै नेपाल आएको बताइएको छ ।
टीओबी समूहका सदस्यहरूले बाइक राइडिङको क्रममा अरूभन्दा फरक देखिएर भाइरल बन्ने मनसायले साइलेन्सर पड्किने बाइक लिएर आन्दोलनमा गएको बयान दिएका छन् । ट्याटु आर्टिस्ट पेशामा रहेका तेन्जिङले आफू तिब्बती मूलका व्यक्तिहरूसँगको संगतबाट प्रभावित भएर ‘तिब्बतीयन ओरिजिनल ब्लड’ लेखिएको ज्याकेट लगाएको बताएका छन् ।
जेन-जी अगुवा सुदन गुरुङसँग सम्बन्ध अस्वीकार
टीओबी समूहलाई जेन-जी आन्दोलनका अगुवा सुदन गुरुङसँग जोडेर हेरिएकोमा दुवै पक्षले कुनै सम्बन्ध नरहेको बताएका छन् । प्रहरी हिरासतमा रहेका तेन्जिङले आफूले सुदन र उनको टिमका कसैलाई पनि नचिन्ने र आन्दोलनको बेलामा ‘बाइक पड्काउन र सबैको नजर खिच्न मात्रै गएको’ बयान दिएका छन् । त्यसैगरी सुदनले आइतबार नै एक भिडियो पोष्ट गरी उनीहरुसँग आफ्नो सम्बन्ध नभएको बताइसकेका छन् ।