१ कार्तिक २०८२, शुक्रबार | Sat Oct 18 2025

कांग्रेस सभापति देउवाले दिए खड्कालाई कार्यवाहक, हिंसाको छानबिन गर्न माग



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार केन्द्रीय कार्यसमितिको बैठकमा १६ सयभन्दा बढी शब्दको लिखित मन्तव्य प्रस्तुत गर्दै हालैको हिंसात्मक घटना, पार्टीको आन्तरिक एकता र भावी नेतृत्व हस्तान्तरणको विषयमा आफ्नो धारणा राखेका छन् । साथै, स्वास्थ्यको कारण देखाउँदै उनले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेका छन् ।

‘जेन जी’ आन्दोलनपछि पहिलो पटक सार्वजनिक भएका सभापति देउवाले ‘तोडफोड, लुटपाट र आगजनीबाट खरानी भएर भग्नावशेषको रूपमा बाँकी रहेको’ केन्द्रीय कार्यालयमा बैठक बस्नु पर्दाको गहिरो दुःख व्यक्त गरे । उनले भदौ २३ र २४ गतेको घटनामा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरे ।

देउवाले भदौ २३ मा जेनजीको शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ भएको दाबी गर्दै त्यसपछिको हिंसालाई ‘नेपालको इतिहासमै डर लाग्दो दिन’ को रूपमा लिपिबद्ध हुने जिकिर गरे । उनले भदौ २४ गतेको हिंसात्मक आन्दोलनका क्रममा कांग्रेस केन्द्रीय कार्यालय, ४८ जिल्लाका कार्यालय र झण्डै १२५ जना नेताका निजी घर/डेरामा आक्रमण, तोडफोड, लुटपाट र आगजनी भएको जानकारी दिए ।

नेपालको प्रजातान्त्रिक क्रान्तिका ऐतिहासिक स्थानहरू विराटनगरको कोइराला निवास, चाक्सीबारीको गणेशमान सिंह निवास र बाँडेगाँऊस्थित सन्त नेता कृष्णप्रसाद भट्टराईको आश्रमसमेत जलाइएकोमा मर्माहत भएको उनले बताए। सभापति देउवाले नागरिकको जीउधनको सुरक्षा गर्ने जिम्मेवारी बोकेका सुरक्षाकर्मीको हुर्मत लिने, हातहतियार लुट्ने र निजी सम्पत्तिमाथि गरिएको तोडफोड, लुटपाट र आगजनीको सत्यतथ्य छानबिन गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन जोडदार माग गरेका छन्।

उनले भदौ २४ मा आफू र आफ्नो परिवारमाथि भएको सांघातिक हमलालाई ज्यानै लिने मनसायले गरिएको आक्रमण भन्दै सुरक्षाकर्मीको घण्टौंको अथक प्रयासपछि उद्धार गरिएको स्मरण गरे ।

यद्यपि, पूर्वप्रधानमन्त्री देउवाले जेनजीले अघि सारेका सुशासन र अभिव्यक्ति स्वतन्त्रताको माग जायज रहेको भन्दै त्यसलाई सम्बोधन गरिनुपर्ने धारणा राखे । उनले भने, ‘उहाँहरूको मुलुकप्रतिको चासो र चिन्ताको सम्बोधन गर्नैपर्छ।’ तर, उनले यो घटना आकस्मिक वा स्वतस्फूर्त नभई ‘सुनियोजित र योजनाबद्ध’ नै रहेको जिकिर गरे। उनले कसैलाई तात्कालीक नाफा–घाटाभन्दा पनि मुलुकको सर्वोपरी हितलाई केन्द्रमा राखेर घटनाको अध्ययन–अनुसन्धान गरिनुपर्ने आवश्यकता औंल्याए।

यसैगरी, देउवाले भदौ २४ को कठिन अवस्थामा महत्वपूर्ण भूमिका खेलेकोमा राष्ट्रपति रामचन्द्र पौडेललाई धन्यवाद दिए। राष्ट्रपतिको परिपक्व भूमिकाले मुलुकमा देखा पर्नसक्ने अर्को संकट रोकिएको उनको भनाइ थियो।

पार्टीभित्र देखिएको ध्रुवीकरणतर्फ संकेत गर्दै सभापति देउवाले देशलाई साक्षी राखेर व्यक्तिगतदेखि समूहगत सबै मतभेद, द्वन्द्व र असहमतिलाई थाती राख्दै एकताबद्ध हुनुपर्नेमा जोड दिए । उनले आगामी १५ औँ महाधिवेशनबाट विधिवत रूपमा पार्टी नेतृत्व हस्तान्तरण गर्ने आफ्नो ‘राजनीतिक इच्छा’ रहेको प्रतिबद्धता दोहोर्याए । उनले स्पष्ट शब्दमा भने, ‘आगामी १५ औँ महाधिवेशनबाट मबाहेक अरू कुनै साथी सभापति बन्नु हुनेछ त्यसमा द्विविधा छैन ।’

मन्तव्यको अन्त्यमा सभापति देउवाले स्वास्थ्यको कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी तोकेको घोषणा गरे । उनले खड्काले पार्टीको बृहत्तर हितमा काम गर्ने विश्वास व्यक्त गरे।

देउवाले संविधान जोखिममा परेको र जननिर्वाचित सर्वोच्च संस्था प्रतिनिधिसभा असंवैधानिक तवरले विघटन गरिएकोमा आपत्ति जनाए । उनले तोकिएको निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था सामान्य बनाउने र शान्तिपूर्ण निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउने जिम्मा सरकारको भएको स्मरण गराउँदै यसमा सरकारको ध्यान जानुपर्ने बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ९ : ४२ बजे