१ कार्तिक २०८२, शुक्रबार | Sat Oct 18 2025

‘जेनजी’ अगुवा हुँ भन्दै कर्मचारी धम्क्याउने व्यक्ति ठगी र चेक बाउन्सका आरोपित



‘जेनजी’ समूहका अगुवा हुँ भनेर पछिल्लो समय सरकारी कार्यालयहरूमा पुगेर कर्मचारीलाई धम्क्याउने, राजीनामा माग्ने लगायतका गतिविधिमा संलग्न एक व्यक्ति ठगी, चेक बाउन्स र चोरीजस्ता आपराधिक मुद्दामा आरोपित रहेको खुलेको छ ।

अछामको पञ्चदेवल विनायक नगरपालिका–४ घर भएका २६ वर्षीय अर्जुनबहादुर शाहीविरुद्ध प्रहरीका विभिन्न कार्यालयमा वैदेशिक रोजगारीका नाममा ठगी, चेक बाउन्स र बाख्रा चोरीजस्ता गम्भीर प्रकृतिका उजुरीहरू रहेको पाइएको हो । प्रहरी अनुसन्धानबाट बाख्रा चोरीमा समेत संलग्नता देखिएका शाहीको परिवार र गाउँमा समेत राम्रो सम्बन्ध नरहेको खुलेको छ ।

आरोपित शाहीसहितको टोलीले हालै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई विभिन्न आरोप लगाउँदै राजीनामा माग गरेका थिए । यस्तै नेपाल वायु सेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई पनि राजीनामा दिन धम्क्याएको सार्वजनिक भएको छ ।

प्रहरीका अनुसार शाहीविरुद्ध विभिन्न मितिमा ठगी र चेक बाउन्सका उजुरीहरू परेका छन् । वैदेशिक रोजगारीका लागि जापान पठाउने भन्दै ठगी गरेको आरोपमा उजुरी परेपछि प्रहरीले उनलाई वैशाखमा पक्राउ गरी वैदेशिक रोजगार विभागमा पठाएको थियो । त्यसैगरी प्रहरी वृत्त महाराजगन्जमा एक युवतीले आफ्नो १० लाख ३० हजार रुपैयाँ ठगी गरेको भन्दै २०८१ वैशाख २७ गते चेक बाउन्सको उजुरी दिएकी थिइन् । बौद्ध प्रहरी वृत्तमा २०८१ पुस २३ गते ७ लाख रुपैयाँको चेक बाउन्सको अर्को उजुरी परेको थियो ।

यसबाहेक महाराजगन्ज वृत्त र स्वयम्भू वृत्तमा पनि क्रमशः २ लाख र १० लाख रुपैयाँको चेक बाउन्सका अन्य उजुरीहरू दर्ता भएका छन् । प्रहरीका अनुसार उनले ती मुद्दाहरू अझै सल्टाइसकेका छैनन् ।

पछिल्लो समय अख्तियार र क्यानमा पुगेर शाहीको टोलीले कर्मचारीहरूलाई तत्काल राजीनामा दिन र नदिए ‘घरबाटै थुत्दिन्छु’ भन्दै धम्क्याएका भिडिओहरू सार्वजनिक भएका छन् ।

क्यानको कार्यालयमा महानिर्देशक अधिकारीसँग वादविवाद गर्ने क्रममा शाहीले टेबल ठोक्दै राजीनामा माग्दै भनेको सुनिन्छ, ‘तपाईंले काम गर्न सक्नु भएन । छाड्नु पर्‍यो नि यो ठाउँ । राजीनामा दिनुस् तपाईं, स्वेच्छिक राजीनामा दिनुस्, गर्न सक्ने मान्छे आउँछ ।’ यद्यपि, महानिर्देशक अधिकारीले भने आफूमाथि लागेका आरोप र क्षेत्राधिकार बाहिरका प्रश्नमा डटेर प्रतिप्रश्न गरेको भेटिन्छ ।

जेनजीको नाममा यस्ता गतिविधिमा संलग्न शाही पूर्वप्रधानमन्त्री सुशीला कार्की प्रधानमन्त्री बन्दा शीतल निवासमा ‘जेनजीको अगुवा’ बनेर पुगेका थिए । त्यतिबेला सुशीलाले सुदन गुरुङसँगै शाहीसहितका जेनजीसँग हातमा हात मिलाएकी थिइन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १० : ०३ बजे