२८ फाल्गुन २०८२, बिहिबार | Thu Mar 12 2026

हर्क साम्पाङको पार्टी मुल उदेश्य प्रत्यक्ष निर्वाचित राष्ट्रपति



धरानका मेयर हर्क राई (हर्क साम्पाङ) नेतृत्वको श्रम संस्कृति पार्टीले गठन भएको करिब एक महिनामा आफ्नो मूल सिद्धान्त र नीति सार्वजनिक गरेको छ । मंगलबार धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले राजनीतिक संरचनादेखि शिक्षा, अर्थतन्त्र, परराष्ट्र नीति, राष्ट्रियता र सुशासनसम्मका विस्तृत एजेन्डा सार्वजनिक गर्दै औपचारिक रूपमा नीति दस्तावेज सार्वजनिक गर्यो ।

पार्टी अध्यक्ष राईले नेपालमा प्रचलित शासन व्यवस्थाले अपेक्षित सुशासन दिन नसकेको आरोप लगाउँदै प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीलाई पार्टीको मुख्य एजेन्डा भएको घोषणा गरे । उनले राष्ट्रपति र उपराष्ट्रपति फरक जाति र लिङ्गका हुनुपर्ने संवैधानिक व्यवस्था सुनिश्चित गर्नुपर्ने बताउँदै मन्त्रीहरू विज्ञबाट छनोट गरिनुपर्ने र सांसद मन्त्री बनेमा उनको पद निलम्बन हुने व्यवस्था आवश्यक रहेको धारणा व्यक्त गरे । राजनीतिक संरचनामा संघीय तहमा दुई सदन र प्रदेशमा एक सदन रहने तथा पूर्ण समानुपातिक निर्वाचन प्रणाली अपनाउने योजना पनि पार्टीले अघि सारेको छ ।

राष्ट्रियताका सवालमा पार्टीले भौगोलिक अखण्डताको रक्षा सर्वोच्च रहने बताउँदै सीमा क्षेत्रमा सेना खटाउने नीति प्रस्तुत गर्यो । नेपाली नागरिकसँग विवाह गरेका विदेशी नागरिकले पाँच वर्ष नेपालमा बसोबास गरी आ–आफ्नो पुरानो नागरिकता त्यागेपछि मात्र नेपाली नागरिकता प्रदान गरिनुपर्ने प्रस्ताव अघि सारियो । पार्टीले देशमा क्रियाशील सबै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू (आइएनजिओ) खारेज गर्ने घोषणा पनि गरेको छ ।

शिक्षा तथा युवा सम्बन्धी नीतिमा श्रम संस्कृति पार्टीले परम्परागत शैक्षिक ढाँचामा आमूल परिवर्तन ल्याउने दाबी गरेको छ । विद्यालय तहमै खाना पकाउने, लुगा सिलाउनेजस्ता जीवनोपयोगी सीप अनिवार्य गरिने, हप्तामा तीन दिन मात्र पढाइ र बाँकी चार दिन उत्पादन तथा साहित्य अध्ययनमा लगानी गरिने व्यवस्था प्रस्ताव गरिएको छ । कक्षा १२ पछि अनिवार्य सैनिक तालिम, शिक्षकलाई राजनीतिक गतिविधिमा संलग्न हुन निषेध तथा जेनजी पुस्ताका गुनासा सुन्न छुट्टै आयोग गठन गर्ने योजना पनि सार्वजनिक गरियो ।

आर्थिक नीतिमा पार्टीले धनी वर्गमाथि बढी कर र गरिबमाथि कर छुटको व्यवस्था ल्याउने, वैज्ञानिक कर प्रणाली लागू गर्ने तथा स्वदेशी उत्पादन र स्थानीय बजारलाई प्राथमिकता दिने नीति अघि सारेको छ । ‘एक गाउँ एक उद्योग’ र ‘एक घर एक स्वरोजगार’ अभियानमार्फत आत्मनिर्भर अर्थतन्त्रको आधार तयार गरिने र श्रमदान संस्कृतिलाई संस्थागत गरिने उल्लेख गरिएको छ । श्रम गर्ने नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा र अति विपन्नका लागि गाँस, बास र कपासको व्यवस्था राज्यले सुनिश्चित गर्नुपर्ने पार्टीको धारणा छ । विदेशी लगानीमा ‘निसर्त’ मोडेल अपनाउने र राष्ट्रिय हितविपरीत शर्त लाग्ने लगानी अस्वीकार गरिने नीति पनि प्रस्तुत गरिएको छ ।

सुशासन र प्रशासनका विषयमा पार्टीले राज्यलाई पूर्ण धर्मनिरपेक्ष बनाइने र जबर्जस्ती वा प्रलोभनमार्फत धर्म परिवर्तन गर्न नदिने व्यवस्था कडाइका साथ लागू गरिने बताएको छ । सरकारी कर्मचारीले गल्ती गरे सरुवामा मात्रै सीमित नराखी जागिरै खोसिने कठोर अनुशासन लागू गर्ने, पत्रकार, सरकारी कर्मचारी र न्यायालयलाई गैरराजनीतिक बनाउने तथा सबै महत्वपूर्ण सरकारी बैठक सार्वजनिक रूपमा लाइभ प्रसारण गरी पारदर्शिता सुनिश्चित गर्ने योजना सार्वजनिक गरिएको छ ।

नीति तथा सिद्धान्त सार्वजनिक गरेपछि पार्टी अब राष्ट्रिय राजनीतिक बहसको केन्द्रमा उभिएको दाबी गर्दै अध्यक्ष राईले श्रम, नैतिकता र पारदर्शितालाई आधार बनाएर वैकल्पिक राजनीतिलाई संस्थागत गर्ने लक्ष्य रहेको बताए ।

प्रकाशित मिति : १७ मंसिर २०८२, मंगलबार  ९ : ०६ बजे