२८ फाल्गुन २०८२, बिहिबार | Fri Mar 13 2026

कांग्रेसले नयाँ क्रियाशील सदस्यता सहज रूपमा वितरण गर्न परिपत्र



नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता वितरणलाई सहज, व्यापक र व्यवस्थित बनाउन सबै संगठन तहमा परिपत्र जारी गरेको छ। पार्टी महामन्त्री तथा क्रियाशील सदस्यता व्यवस्थापन समिति संयोजक गगन थापाले सातै प्रदेश, १६५ प्रतिनिधि सभा क्षेत्र, ३३० प्रदेशसभा क्षेत्र, ६ महानगर, ११ उपमहानगर, सबै नगरपालिका, गाउँपालिका र वडा कार्यसमितिलाई मंगलबार परिपत्र पठाएर सदस्यता वितरणमा एकरूपता अपनाउन निर्देशन दिएका छन्।

परिपत्र अनुसार नयाँ क्रियाशील सदस्यता वितरण कांग्रेसको विधान, नियमावली र केन्द्रीय कार्यसमितिको निर्णयअनुसार सहज र व्यापक रूपमा गर्नुपर्ने पार्टी नीति रहेको भन्दै, सोहीअनुरूपको मापदण्ड सबै तहमा पठाइसकिएको उल्लेख छ। मापदण्ड पुगेका व्यक्तिलाई समयमै नवीकरण र नयाँ सदस्यता प्रदान गरी पुस ११ गतेभित्र केन्द्रमा विवरण उपलब्ध गराउन आग्रह गरिएको छ।

थापाले भनेका छन्, “मापदण्ड पुगेका व्यक्तिलाई सहज ढंगले सदस्यता नवीकरण तथा वितरण गरी तोकिएको समयभित्रै केन्द्रमा उपलब्ध गराउन यही परिपत्र गरिएको हो।”

नवीकरण रोकिएमा केन्द्रले सिधै नवीकरण गर्ने

परिपत्रमा नवीकरणका योग्य व्यक्तिको नवीकरण कुनै कारणले रोकिएमा केन्द्रले सिधै नवीकरण गरिदिने व्यवस्था मिलाइएको छ। यद्यपि, सकेसम्म सबै नवीकरण सम्बन्धित तहमै सम्पन्न गर्न निर्देशन दिइएको छ।

नवीकरण नहुने कोटाका रूपमा मृत्यु भएका, पार्टी परित्याग गरेका, केन्द्रीय अनुशासन समितिबाट अन्तिम कारबाही भई निष्कासनमा परेकाहरू तथा ‘मेरो क्रियाशील नवीकरण नगरिदिनु’ भनेर स्वतन्त्र रूपमा आग्रह गरेका सदस्य मात्र उल्लेख गरिएको छ। ती बाहेक सबै सदस्यको नवीकरण अनिवार्य हुने परिपत्रमा स्पष्ट छ।

उदार ढंगले सदस्यता वितरण

क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य प्रकाश रसाइली स्नेहीले अहिले उदार ढंगले क्रियाशील सदस्यता वितरण भइरहेको जानकारी दिएका छन्। कांग्रेसले अन्य दल छाडेर आफ्नै पार्टीमा प्रवेश गरेका व्यक्तिलाई समेत क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय केन्द्रीय समितिबाटै भइसकेको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा हुने तय भएको छ। महाधिवेशनअघि वडादेखि प्रदेशसम्मका अधिवेशन क्रमिक रूपमा सम्पन्न गरिनेछ।

नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणलाई व्यवस्थित बनाएर पार्टीभित्रको आन्तरिक लोकतन्त्र तथा संगठन सुदृढीकरणलाई प्रभावकारी बनाउने उद्देश्यले यो प्रक्रिया अघि बढाइएकाे कांग्रेसको भनाइ छ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बुधबार  ९ : ०४ बजे