मुलुकका प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताहरूले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सहभागी हुन आफूहरू तयार रहेको प्रतिबद्धता व्यक्त गरेका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरूले निर्वाचन सफल पार्ने साझा सङ्कल्प गरेका हुन् ।
बालुवाटारमा शीर्ष संवादको माहोल अपराह्न पौने ४ बजे बालुवाटार पुगेका कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई स्वागत गर्दै सञ्चारमन्त्री जगदीश खरेलले बैठकको सुरुवात गरेका थिए । मन्त्री खरेलले एमालेको सफल महाधिवेशन, सभापति देउवाको स्वास्थ्य लाभपछिको सक्रियता र प्रचण्डको नेतृत्वमा भएको दलहरूको ध्रुवीकरणलाई लिएर तीनै नेतालाई बधाई दिए।
छलफलमा प्रधानमन्त्री कार्कीले राष्ट्रपतिबाट प्राप्त कार्यादेश अनुसार आफू निर्वाचनको तयारीमा केन्द्रित रहेको स्पष्ट पारे । “म न्याय क्षेत्रको मान्छे हुँ, चुनाव गराउने जिम्मेवारी पाएबमोजिम हामी अघि बढिरहेका छौं,” उनले भनिन्, “मैले रक्षा बाहेकका मन्त्रालयहरू पनि अन्य मन्त्रीलाई जिम्मा लगाइसकेकी छु, अब सबै दल यसमा होमिनुको विकल्प छैन ।” प्रधानमन्त्रीले निर्वाचन आयोग र सुरक्षा निकायलाई पर्याप्त स्रोतसाधन उपलब्ध गराइएको र सुरक्षाकर्मीको मनोबल उच्च रहेको बताउँदै स्थिर लोकतन्त्रका लागि निर्वाचन सफल पार्न नेताहरूलाई आग्रह गरिन् ।
बैठकमा एमाले अध्यक्ष ओलीले ‘जेनजी’ आन्दोलनलाई आन्दोलन नभई विध्वंसको संज्ञा दिँदै सुरक्षा व्यवस्थाप्रति केही शङ्का व्यक्त गरे । उनले संसद् पुनस्र्थापनाको कुरामा जोड दिन खोज्दा कांग्रेस सभापति देउवाले तत्कालै रोक्दै भने, “हत्तेरी, चुनावमा जाने भनेपछि भइगो त! कति त्यही कुरा गर्या यार? सेना परिचालन भइसकेको छ, त्यो सुरक्षाकै लागि त हो नि!” सभापति देउवाको सो भनाइमा प्रचण्डले पनि सहमति जनाउँदै अब निर्वाचनकै विषयमा केन्द्रित हुन आग्रह गरे ।
बैठकको मुख्य चर्चाको विषय भने समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने समयसीमा रह्यो । सभापति देउवाले पार्टीभित्र केही आन्तरिक समस्या रहेकाले निर्वाचन आयोगले तोकेको पुस १५ गतेको समयसीमालाई थप ५ दिन बढाउन प्रस्ताव गरे । उक्त प्रस्तावमा नेकपा संयोजक प्रचण्डले पनि सहमति जनाउँदै ५ दिन थप्दा निर्वाचनको समग्र तालिकामा ठूलो असर नपर्ने बताए । यद्यपि, एमाले अध्यक्ष ओलीले भने आफ्नो दलमा कुनै समस्या नरहेको र समयमै सूची बुझाउन सकिने धारणा राखे ।
प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेलले भने यसबारे निर्वाचन आयोगसँग यसअघि नै छलफल भएको र आयोगले समय थप्न नसकिने स्पष्ट पारिसकेको स्मरण गराए । उनीहरूका अनुसार यो विषयमा सरकारले भन्दा पनि निर्वाचन आयोगले नै स्वतन्त्र निर्णय लिनुपर्ने हुन्छ ।
नेपाली कांग्रेसले यसै सन्दर्भमा ११० उम्मेदवार छनोटका लागि मापदण्ड तयार गरेको छ भने कारबाहीमा परेका कार्यकर्ताको माफी मिनाहा गर्ने जस्ता महत्त्वपूर्ण सांगठनिक निर्णयहरू पनि गरेको छ । थप छलफलका लागि कांग्रेस कार्यसम्पादन समितिको बैठक आइतबार बिहान ११ बजे पुनः बस्नेछ ।









